
सोलुखुम्बु : खुम्बुपासाङ ल्हामु गाउँपालिका–२ स्थित हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ। सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको बताइएको छ। फायर फाइटिङसहितको हेलिकोप्टर आगो निभाउन आज (सोमबार) बिहानदेखि खटिएको भएपनि आगो नियन्त्रण बाहिर गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षण ओमप्रसाद यादबले जानकारी दिए।
आगो नियन्त्रणमा लिन नसकेपछि हेलीकोप्टरसमेत काठमाडौ फर्किएको छ। आगो नियन्त्रणका लागि प्रहरी र स्थानीय खटिएता पनि नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि हेलीकोप्टर कम्पनी र प्रदेश प्रहरी कार्यालयसँग समन्वय भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।
धुवाँले गर्दा सोमबार बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो। आगोका कारण सल्ला, उत्तिस लगायतका प्रजातिका बोटबिरुवाहरु धेरै मात्रामा नष्ट भइसकेको स्थानीयले बताएका छन्। खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ लुक्लाको नाक्चुङ वनमा आईतबार रातिबाट सुरु भएको आगलागीको कारण पत्ता लाग्न सकेको छैन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया