×

सोलुदुधकुण्डको कदमप्रति माप्यदुधकोशीको आपत्ति

अशोज ३, २०८०

सोलुखुम्बु । जिल्लाको सेर्गाखोपबाट माप्य दुधकोशी हुँदै खुम्बु पासाङल्हामू गाउँपालिका जोड्ने सडक कालोपत्रेको शिलान्यास विषयलाई लिएर माप्यदुधकोशी गाउँपालिकाले आपत्ति जनाएको छ ।

जिल्लाकै एकमात्र नगरपालिका सोलुदुधकुण्डका मेयर नाम्गेल जाङबु शेर्पाले बुधबार सडक कालोपत्रेको शिलान्यास गरेपछि गाउँपालिकाले आपत्ति प्रकट गरेको हो । अध्यक्ष बुद्धिकिरण राईसहित गाउँपालिकाका सातवटै वडाका वडाध्यक्षहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी मेयर शेर्पाको उक्त कदमले सडक कालोपत्रे गर्नका लागि पहल गर्ने पक्षहरुको अपमान भएको भन्दै उक्त कदमको भत्र्सना समेत गरेका छन् ।
विज्ञप्तिमा माप्य–खुम्बु मितेरी सडक नामाकरण गरी पूर्व संघीय सांसद हेमकुमार राईले सो सडक निर्माणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै जारी विज्ञप्तिमा माप्यदुधकोशी गाउँपालिका, वर्तमान सांसद मानविर राई, राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेश सांसद बुद्धिकुमार राज भण्डारी र खुम्बुपासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाको पहलमा कार्यक्रम स्वीकृत भएको दाबी गरिएको छ ।
पर्यटकीय गन्तव्य समेत रहेको खुम्बु पुग्ने महत्वपूर्ण यो सडकका लागि माप्यदूधकोशी गाउँपालिकाले डिपीआर तयार गरी मन्त्रालयबाट योजना स्वीकृत गराएको तथ्य समेत ओझेलमा पार्ने काम मेयर शेर्पाले गरेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । माप्यदूधकोशी गाउँपालिकाले सम्पूर्ण प्रक्रिया पूरा गरी कार्यक्रम शुरु हुन लागेको अवस्थामा निर्माण कम्पनीको स्वीकृतिवेगर आफ्नो नाम राखेर एकलौटी ढंगले शिलान्यासको नाटक गर्नु, विगतमा भएका सहमती र सम्झौता विपरित भएको उल्लेख गरिएको छ ।
आयोजना सञ्चालनका लागि गाउँपालिकासँगै हातेमालो गर्ने पूर्व सांसद राई वर्तमान सांसद मानविर राई, प्रदेश सांसद राजभण्डारी र राष्ट्रिय सभा सदस्य शेर्पाको महत्वपूर्ण योगदानप्रति आभार र धन्यवाद प्रकट गर्दै जारी सो विज्ञप्तिमा अध्यक्ष राईसहित उपाध्यक्ष गौरव राई गाउँपालिकाका सबै वडाका वडाध्यक्षहरुको हस्ताक्षर रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: