सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट माप्यदुधकोशी हुँदै सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रेको शिलान्यास गरिएको छ । माप्यदुधकोशी गाउँपालिकाले सिलिगुडी डांडामा शुक्रबार आयोजना गरेको कार्यक्रममा सल्लेरी–सिल्गुडीडाँडा–काँकु बासा–ओर्लाङघाट–जुभिङ–खरिखोला–लुक्ला–खुम्बु सडक उद्घाटन गरिएको हो।
कालोपत्रेको शिलान्यास प्रतिनिधिसभा सदस्य मानबीर राई, प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारी,माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईले सयुक्त रूपमा शिलान्यास गरेका हुन्।
पहिलो चरणमा करिब १५ किलो मिटर सडक कालोपत्रे हुने सो योजना संघीय सरकारको ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँको लागतमा सुरु हुन लागेको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए।
अध्यक्ष राईले उक्त सडक कालोपत्रेको ठेक्का चम्पेश्वर–पिएम निर्माण जेभि ललितपुरले पाएको जानकारी पनि दिए ।बहुवर्षीय आयोजना अन्तर्गत पर्ने सो कार्यका लागि निर्माण कम्पनीले २०८३ असार २७ गते सम्मको समय अवधि पाएको छ । तर पहिलो चरणको काम अन्र्तगत १५ किलोमिटर सडकमा सडक चौडा, वाल, नाली निर्माण, ठाउँ ठाउँमा ह्युम पाईप राख्नेसहित कालोपत्रे गर्ने कार्य एक वर्ष भित्र सकिने निर्माण कम्पनीले जनाएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै सोलुखुम्बु प्रतिनिधिसभा सदस्य मानबीर राईले जिल्ला सदरमुकामबाट सुरु भएको खुम्बु जोड्ने सडक कालोपत्रेले पर्यटनको क्षेत्रमा ठुलो महत्व राख्ने दाबी गर्नुभयो ।
यस चरणमा १५ किलोमिटर मात्रै कालोपत्रे हुने भएकाले उक्त सडकलाई चाँडो खुम्बुको चौरीखर्कसम्म विस्तार गरी कालोपत्रे गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले विकासमा राजनिति घातक हुने दाबी गर्नुभयो ।
विकास र राजनिति दुवै जनताका लागि गरिने भएकाले विकासमा सबैको सहयोग र सहकार्य आजको आवश्यकता भएको बताउनुभयो । माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सगरमाथा क्षेत्र जोड्ने लाईफलाईन सडकको कालोपत्रेले पर्यटन पर्वद्धनमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विकासका लागि सबै स्थानीय सरकारसँग समन्वय गर्न माप्यदुधकोशी गाउँपालिका तयार रहेकाले जनतामुखी विकास भएको खण्डमा मात्रै समृद्धि हासिल गर्न सकिने भएकाले यसमा जिल्लाका सबै स्थानीय सरकार प्रमुखहरु एकजुट हुन आव्हान गर्नुभयो ।
यस्तै माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष गौरव राईले जिल्लाको विकासमा सबै जनप्रतिनिधि एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । विकासमा मतभेद र राजनिति हामी भयो भने जनताले दुःख पाउने भएकाले यसमा सबै सचेत भएर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया