थारु समुदायमा नयाँ वर्षको उत्साह, गाउँको नयाँ नेतृत्व चयन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । सुदूरपश्चिमको तराई क्षेत्र, विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने थारु समुदायको घर–आँगनमा अहिले माघी पर्वको रौनक छाएको छ । थारु समुदायले माघीलाई एक पर्वका रूपमा मात्र नभई आफ्नो नयाँ वर्षको रूपमा समेत धूमधामसँग मनाउँदैछन् ।

पुसको कठ्याङ्ग्रिदो जाडोको बेवास्ता गर्दै गाउँबस्तीमा माघीको उल्लास छाएको छ । एक हप्ता अघिदेखि नै सुरु भएको तयारीले अहिले मूर्त रूप लिएको छ ।

माघीको तयारी पुस लाग्नेबित्तिकै सुरु भए पनि विशेष तयारी भने माघे संक्रान्तिको एक हप्ता अघिदेखि तीव्र हुन्छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ की स्थानीय विपनी चौधरीका अनुसार यो समयमा थारु महिलाहरूलाई माघीको तयारी गर्न भ्याइनभ्याइ हुन्छ ।

माघी पर्वको अर्को मुख्य विशेषता भनेको यसको खानपिन हो । यो पर्वमा थारु समुदायमा विशेष परिकार पाक्छन् । विपनी चौधरीका अनुसार माघीमा बङ्गुरको मासु अनिवार्यजस्तै हुन्छ । यसका साथै जाँड (स्थानीय मदिरा), ढिकरी (चामलको पिठोबाट बनाइने विशेष परिकार), आलु, मुला र सिन्कीको तरकारी खाने चलन छ ।

पुस मसान्तको दिन, जसलाई थारु भाषामा ‘जिता मरना’ दिन पनि भनिन्छ, यस दिन घर–घरमा सुँगुर काट्ने र मासुका परिकार बनाउने गरिन्छ । पुसको अन्तिम रात यी परिकार खाएर रमाइलो गरिन्छ भने माघ १ गते बिहानै उठेर नदी वा तलाउमा नुहाउने परम्परा छ । यसलाई पाप पखाल्ने र पुण्य कमाउने अवसरका रूपमा लिइन्छ ।

परम्परा अनुसार माघको पहिलो हप्ताभित्र थारु गाउँहरूमा ‘खोज्नी बोझ्नी’ वा भेला आयोजना गरिन्छ । यो भेलाले आगामी वर्षका लागि गाउँको मुख्य मान्छे अर्थात् ‘भलमन्सा’ छनोट गर्छ । साथै, गाउँको सुरक्षा गर्ने ‘चौकीदार’ र हुलाकीको काम गर्ने व्यक्तिहरू पनि यसै समयमा छानिन्छन् । यो प्रक्रिया पूर्ण रूपमा लोकतान्त्रिक हुन्छ, जहाँ गाउँलेहरूले छलफल गरेर सर्वसम्मत वा बहुमतका आधारमा नेतृत्व चयन गर्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *