पौने एक अर्ब रुपैयाँको लागतमा लुम्बिनी क्षेत्रमा तयार भएको अन्तर्राष्ट्रिय सभा हल तीन वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । सभा हल सञ्चालनको कार्यविधि बन्न नसकेकाले भौतिक संरचना तयार भइसकेर पनि प्रयोगमा आउन नसकेको हो ।
२०७९ जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित सभा हल उद्घाटन गरेका थिए ।
सभा हल सञ्चालन नहुँदा यसबाट आम्दानी हुने बाटो खुल्न सकेको छैन भने अर्कोतिर यसको रेखदेखका लागि कर्मचारीका अतिरिक्त बिजुली, पानीको खर्च लगायतमा आर्थिक भार बढ्दै गएको छ ।
लुम्बिनी विकास कोषका कर्मचारीहरूका अनुसार पाँच हजार जना अट्ने क्षमताको सभा हल तयार अवस्थामा छ । सञ्चालनको कार्यविधि नहुँदा विभिन्न कार्यक्रमका आयोजकलाई यो हल भाडामा लगाउन नमिलेको उनीहरू बताउँछन् ।
लुम्बिनीका होटेल व्यवसायी अकरम खाँले सभा हल सञ्चालनका लागि पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताए । २०७४ मा बुद्ध जयन्तीकै दिन हावाहुरी र झरीले कार्यक्रम स्थल भत्काएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच हजार क्षमताको ध्यान केन्द्र लुम्बिनीमा बनाउने घोषणा गरेका थिए । सोही अनुसार सभा हल निर्माण थालिएको थियो ।
भवन बनुन्जेलसम्म कार्यविधि तयार भइसक्नुपर्नेमा सरकारले यसको सञ्चालन कार्यविधि नबनाएर करोडौँ बजेट खर्च भएको संरचनालाई उपयोगविहीन बनाएको आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसाल बताउँछन् ।
उनले भने, ‘यति धेरै लगानी भएको सभा हल सञ्चालनका लागि तत्काल कार्यविधि बनाएर सरकार अघि बढ्नुपर्ने हो, तर यसतर्फ सरकारले ध्यान नै दिएको छैन ।’
उक्त सभा हलमा आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनी विकास कोषलाई आम्दानी हुने खालका जम्मा ३ वटा कार्यक्रम भएका छन् । चालु आर्थिक वर्ष एउटा कार्यक्रम सञ्चालन भएको छ ।
लुम्बिनी विकास कोषको राजस्व शाखाका अनुसार आर्थिक वर्ष २०८१/०८२मा नेपाल बुद्ध अम्बेडकर महासभा धनगढीले ५ दिन कार्यक्रम गरेबापत ५ लाख ८० हजार, बुद्धिस्ट चाइल्ड फाउन्डेसनले १ दिन हल प्रयोग गरेबापत १ लाख ५० हजार, बुटवलको नवीन औद्योगिक कदर बहादुर रिता माविले एक दिन सभा हल प्रयोग गरेबापत ५० हजार रुपैयाँ विकास कोषलाई बुझाएका छन् ।
चालु आर्थिक वर्ष अक्सफोर्ड स्कुल बुटवलले १ दिन प्रयोग गरेबापत ५० हजार रुपैयाँ बुझाएको छ । विकास कोषका राजस्व शाखाका अधिकृत फर्सुराम राईका अनुसार सभा हल तयार भएदेखि हालसम्म लुम्बिनी विकास कोषले सभा हलको भाडाबापत जम्मा प्राप्त गरेको रकमले अहिलेसम्मको विद्युत्, पानी, सरसफाइ, सुरक्षाकर्मी खर्च उठ्न पनि सकस हुने बताए ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले सञ्चालन कार्यविधि नहुँदा अहिले आन्तरिक कार्यविधिबाटै भाडामा दिने गरेको बताए । विकास कोषको कार्यविधि ड्राफ्ट गरे पनि बोर्डबाट पास नभएको उनको भनाइ छ ।
कोषले कुन प्रकृतिको कार्यक्रमको हो, कति समयका लागि प्रयोग हुने हो भन्नेजस्ता अवस्था हेरेर दैनिक ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म भाडा लिने गरेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्