व्यवसायीमार्फत किताब बेच्न महावीर पुनलाई पोखरा महानगरको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २७

काठमाण्डौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले आफ्नो अभियानका लागि सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले ध्यानाकर्षण गराएका छन् । मेयर आचार्यले सडकमा यसरी अनुमतिबिना पुस्तक बेच्दा ट्राफिक व्यवस्थापनमा असर परेको र कानुनविपरीत हुने भन्दै पुस्तक व्यवसायी महासंघमार्फत बिक्री गर्न सुझाव दिएका छन् ।

आचार्यले पुनको देश र समाजप्रतिको समर्पण, नवप्रवर्तन अभियान र सादगीपनको उच्च प्रशंसा गरेका छन् । तर, सम्मानित व्यक्तित्व सडकमा उभिएर किताब बेच्दा अनावश्यक सवाल–जवाफ हुने र त्यो उनको उचाइलाई नसुहाउने मेयर आचार्यको भनाइ छ ।

फुटपाथमा साना व्यवसाय गर्ने व्यक्तिहरूलाई नगर प्रहरीले नियमअनुसार हट्न अनुरोध गर्दा, त्यही नियम तपाईँमाथि पनि लागू हुँदा अनावश्यक विवाद सिर्जना हुनु उपयुक्त देखिँदैन, मेयर आचार्यले भनेका छन् । उनले दर्ता र आवश्यक अनुमतिबिना कुनै पनि वस्तुको बिक्री–वितरण गर्नु कानुनी रूपमा पनि जटिल हुन सक्ने स्मरण गराएका छन् ।

मेयर आचार्यले पुनलाई पोखरा आउन निमन्त्रणा गर्दै देशभरका करिब १८ हजार पुस्तक व्यवसायीको सञ्जालमार्फत किताब बेच्न सकिने विकल्प प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *