संखुवासभा । संखुवासभाबाट सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन्। सोमबार साँझ अन्तिम मतगणना सकिँदा कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दै जित सुनिश्चित गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पाले १५ हजार मत ल्याउँदै दोस्रो स्थान हासिल गरे। नेपाली कांग्रेसका उम्मेदवार दिपनकुमार श्रेष्ठ १३ हजार २७१ मतसहित तेस्रो स्थानमा सीमित भए।
अन्य उम्मेदवारतर्फ श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरिन् भने नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत पाइन्।
नवनिर्वाचित कार्की यसअघि अमेरिकाका लागि नेपालको राजदूतसमेत भइसकेका अनुभवी नेता हुन्। कूटनीति, विकास तथा नागरिक समाजका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनलाई विकासमुखी सोच र अन्तर्राष्ट्रिय अनुभव भएको नेताका रूपमा चिनिन्छ।
६२ वर्षीय कार्कीको शैक्षिक पृष्ठभूमि पनि विविध छ। उनले त्रिभुवन विश्वविद्यालयबाट बीएससी अध्ययन पूरा गरेका छन्। त्यसपछि सन् १९९० मा कृषि अर्थशास्त्र विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका थिए।
सन् १९९५ मा उनले बेलायतको म्यानचेस्टर इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट विकास परियोजना व्यवस्थापनमा डिप्लोमा गरेका छन्। त्यस्तै, सन् २००१ मा युनिभर्सिटी अफ इस्ट एन्ग्लियाबाट “नेपालमा गरिबी र सामाजिक आन्दोलन” विषयमा विद्यावारिधि (पीएचडी) प्राप्त गरेका थिए।
कूटनीतिक दक्षता अभिवृद्धिका लागि उनले हार्वर्ड ल’ स्कूलबाट अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्वसम्बन्धी प्रशिक्षण लिएका छन् भने संयुक्त राष्ट्रसंघबाट अन्तर्राष्ट्रिय वार्तासम्बन्धी तालिम पनि प्राप्त गरेका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्