काठमाडौं — काभा लिग महिला क्लब च्याम्पियनसिपअन्तर्गत नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा हार व्यहोरेको छ। माल्दिभ्समा जारी प्रतियोगितामा इरानको फुलाद सेपाहाङ स्पोर्टस क्लबले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
खेलमा फुलाद सेपाहाङले पुलिसमाथि स्पष्ट दबाब कायम गर्दै २५–१४, २५–१५ र २५–१८ को सेटमा जित हात पार्यो। पुलिस खेलको कुनै पनि सेटमा लय समात्न सकेन।
यसअघि प्रतियोगिताको पहिलो खेलमा भने पुलिसले उज्वेकिस्तानको हुमो भिसीविरुद्ध प्रभावशाली जित निकालेको थियो। साविक विजेता पुलिसले ३–१ को सेटमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो। सो खेलमा पुलिसले ३०–२८, २१–२५, २५–२१ र २५–२३ को सेटमा सफलता पाएको थियो।
काभा क्लब च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि जितेको पुलिस यसपटक समूह ‘बी’ मा रहेको छ। समूह चरणको अन्तिम खेलमा पुलिसले आइतवार आयोजक राष्ट्र माल्दिभ्सको हुर्रा सिसीसँग प्रतिस्पर्धा गर्नेछ।
समूह ‘ए’ मा भने माल्दिभ्सको हुम्को, श्रीलंकाको हिर्दारामानी एससी र काजकिस्तानको तुरान एफसी रहेका छन्। राउन्ड रोबिन लिगपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
उपाधि रक्षा लक्ष्यसहित पुलिसले टोलीलाई थप मजबुत बनाउँदै तीन नयाँ खेलाडी अनुबन्ध गरेको छ। टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी सलिना श्रेष्ठ र सुमित्रा रेग्मी तथा एभरेष्ट क्लबकी मिना सुनारलाई टोलीमा समेटिएको छ।
यसअघि गत वर्ष पनि पुलिसले एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्नालाई टोलीमा भित्र्याएको थियो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्