चुनावी मैदानमा दलहरूको एकल यात्रा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलहरू पूर्वनिर्वाचन गठबन्धन नगरी आफ्नै बलबुतामा चुनावी मैदानमा उत्रिएका छन् । २०७४ को वाम गठबन्धन र २०७९ को पाँचदलीय सत्ता गठबन्धनजस्ता अभ्यास यसपटक दोहोरिएनन्।

नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनसँगै रणनीति फेरिएको छ। नयाँ सभापति गगन थापाले चुनावअघि तालमेल नगर्ने अडान लिएपछि कांग्रेस १६५ क्षेत्रमा आफ्नै उम्मेदवारसहित प्रतिस्पर्धामा छ। यसअघि सभापति शेरबहादुर देउवाले एमालेसँग तालमेलको पहल गरेका थिए।

एमालेले पनि १६५ क्षेत्रमा उम्मेदवार उठाएको छ भने केही क्षेत्रमा सीमित सहकार्य गरे पनि ठूला दलसँग गठबन्धन बनेन। कांग्रेससँग सम्भावित तालमेल नेतृत्व परिवर्तनपछि विफल भएको एमाले स्रोत बताउँछ।

प्रचण्ड नेतृत्वको नवगठित नेकपाले १६४ क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टी एकता र ‘मध्यम ध्रुव’को रणनीतिसहित चुनावमा होमिएको नेकपाले पनि गठबन्धन नगरी एकल प्रतिस्पर्धा रोजेको छ।

कांग्रेसको तटस्थ निर्णयपछि अन्य दलबीच पनि चुनावी तालमेलको सम्भावना समाप्त भई यसपटकको चुनावमा प्रमुख दलहरू एकल यात्रामा देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *