काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका छन् ।
उनले उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका हुन् । उनले नै काभ्रेमा रास्वपा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
बिहीबार दिएको राजीनामामा उनले पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्रमा ह्रास आएको, आर्थिक अपारदर्शिता र नेतृत्वस्तरमा नैतिक विचलन आएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको आरोप छ ।
मोबाइल पसलमा काम गर्ने, गीत गाउने वा सामाजिक अभियन्ताको परिचय दिएका र चटकदार व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको उनको आरोप छ ।
रास्वपामा प्रारम्भिक समिति केन्द्रीय समिति विस्तार हुँदै गए पनि यसको मापदण्ड, प्रक्रिया र औचित्यमा स्पष्ट पारदर्शिता नभएको उनले औँल्याउँदै उनले पार्टीको संरचना विधि र सिद्धान्तभन्दा व्यक्तिकेन्द्रित निर्णयतर्फ उन्मुख भएको राजीनामा पत्रमा उल्लेख छ ।
सदस्यता र उम्मेदवार आवेदन शुल्कको हिसाब नदेखाएको, विधानतः केन्द्रीय महाधिवेशन नगरिएको, वषौंदेखि खटिएका कार्यकर्ता छाडेर नयाँ र ‘चटकदार’ लाई टिकट दिएको, सीमित व्यक्तिले पार्टीलाई प्राइभेट कम्पनीजस्तो चलाएको, तल्लो तहका नेता-कार्यकर्तालाई ‘दास’ व्यवहार गरिएको, पार्टीभित्र ‘गणेश प्रवृत्ति’ (चाकडी गर्नेलाई पद दिने) मौलाएको, नीति र सिद्धान्तभन्दा व्यक्ति केन्द्रित निर्णय हाबी, रवि लामिछानेको सहकारी प्रकरणले नैतिक संकट पैदा गरेको, महिला तथा समर्पित कार्यकर्ताको आत्मसम्मानमा चोट पुऱ्याएको, प्रधानमन्त्रीको रूपमा प्रस्तावित बालेनको नागरिकता कीर्तेले विश्वास र नैतिकतामा प्रश्न उठेको उनको आरोप छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्