काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह परिवर्तनको झिल्को भएकाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको बताएका छन् ।
बालेनको उदय नै नेपालमा राजनीतिक परिवर्तनको मुख्य झिल्को भएकोले प्रधानमन्त्रीका रूपमा युवापुस्ताले समेत विश्वास गरेको उनले बताए ।
पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
‘काठमाडौँको मेयरका रूपमा बालेन शाहको उदय पछाडि परिवर्तनको झिल्को बलेको हो नि त, यसलाई राँकोको रूप दिँदै छौँ हामी,’ उनले भने, ‘युवाहरूले सर्वाधिक बढी रुचाएको व्यक्तिका रूपमा पनि अहिले हामीले सहकार्य गर्दाखेरि प्रधानमन्त्रीको दाबेदार नै बालेन शाह हुन् ।’
परम्परागत राजनीतिको फोहोरलाई एकै झड्कामा सफा गर्न र देशलाई नयाँ युगमा लैजान पछिल्लो एकता गरिएको उनले बताए ।
चुनावी भागबण्डाबारे जिम्मेवारी बाँडफाँट गरिएको उनले दाबी गरे । ‘हामीले भाग बाँड्या होइन, जिम्मेवारी बाँड्या हो,’ उनले भने, ‘जब बालेनजी, म र कुलमानजी सँगै जोडिएर जाँदा राष्ट्रले यसलाई उत्सवका रूपमा लियो, जनताको त्यो उत्साह नै हाम्रो सहकार्यको आधार हो ।’

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्