काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचित सांसद तथा सरकारका गृहमन्त्री सुधन गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र छलफल भएको छ ।
स्रोतका अनुसार गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने सम्बन्धमा पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच सोमबार बिहान कुराकानी भएको हो । गम्भीर विषय भएकाले यस सम्बन्धमा सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा थप छलफल भएर आवश्यक निर्णय लिने तयारी भएको स्रोतको भनाइ छ ।
गृहमन्त्री बनेको एक महिना नपुग्दै गुरुङ सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट र व्यापारी घराना शंकर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको विषय बाहिरिएको थियो ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका दीपक भट्टसँग उनको कनेक्सन भेटिएको समाचार बाहिरिएपछि गुरुङको चौतर्फी आलोचना भइरहेको छ ।
महामन्त्री बुर्लाकोटीले भने गुरुङको सेयर लगानी गैरकानुनी रूपमा गरिएको हो वा होइन भन्ने विषयमा सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर अगाडि बढ्ने प्रतिक्रिया दिए ।
मिडियामा समाचार आइसकेपछि सरकारले नै यसको अनुसन्धान गर्ने विश्वास गर्दै उनले यदि अनुसन्धानका क्रममा दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाहीको भागिदार बन्ने बताए ।
यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साहले पदीय दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा सक्रिय बनाएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो । त्यही आधारमा प्रधानमन्त्री बालेन शाहले साहलाई पदमुक्त गरेका थिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्