काठमाडौं : विशेष अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गर्दै दुई वर्ष छ महिनाको कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मंगलबार उक्त फैसला सुनाएको हो। अदालतले पौडेलको वैध आम्दानी दुई करोड २१ लाख रुपैयाँ रहेको भए पनि उनीसँग १४ करोड ५७ लाख रुपैयाँ बराबरको सम्पत्ति भेटिएको उल्लेख गरेको छ।
वैध आयभन्दा १२ करोड ७५ लाख रुपैयाँ बढी सम्पत्तिको कानुनी स्रोत पुष्टि गर्न नसकेपछि उक्त रकमलाई गैरकानुनी आर्जन ठहर गरिएको अदालतले जनाएको छ। सोही आधारमा पौडेललाई दुई वर्ष कैद सजाय सुनाइएपछि सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गर्दै थप ६ महिनाको कैद सजायसमेत थपिएको हो।
फैसलाअनुसार १२ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति जफत गरिनेछ भने सोही रकम बराबरको जरिबाना पनि तिर्नुपर्नेछ। साथै, अपराध पीडित संरक्षण कोषमा ५१ लाख रुपैयाँ जम्मा गर्न अदालतले आदेश दिएको छ।
यसअघि राष्ट्रिय भुक्तानी प्रणालीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर भइसकेका पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जनको अभियोगमा दोस्रो मुद्दा दायर गरेको थियो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्