सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ र ६ लाई जोड्ने दुधकोशी नदीमा निर्माण हुन लागेको बेलिब्रिजको शिलान्यास गरिएको छ ।
बिहीबार गाउँपालिका अध्यक्ष असिम राईले उक्त बेलिब्रिजको शिलान्यास गर्नुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
प्रवक्ता कार्कीका अनुसार गाउँपालिका र दुधकोशी हाइड्रोपावर कम्पनीबीचको संयुक्त लगानीमा बेलिब्रिज निर्माण हुनेछ । उहाँका अनुसार यो बेलिब्रिज हाइड्रोपावरको प्रयोजनका लागि मात्र नभई गाउँपालिकाको दीर्घकालीन पूर्वाधार विकास योजनाअन्तर्गत विशुद्ध रूपमा स्थानीय नागरिकको सहज आवतजावतका लागि निर्माण गर्न लागिएको हो । हाइड्रोपावर कम्पनीले स्थानीय समुदायको हितका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी गर्ने बताइएको छ ।
गाउँपालिका अध्यक्ष असिम राईले १२ करोड बढी लागतमा बन्न लागेको बेलिब्रिजको कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सबै सरोकारवाला, स्थानीयवासी तथा निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।
उहाँले विकासका यस्ता ठूला योजनाहरू सामूहिक प्रयास र सहकार्यबाट मात्र सफल हुने भन्दै सबैलाई भ्रमको पछाडि नलागि सकारात्मक सहयोगका लागि आग्रह गर्नुभयो।
बेलिब्रिज निर्माण सम्पन्न भएपछि थुलुङ दुधकोशी गाउँपालिकाका वडा नम्बर ४, ५ र ९ का बासिन्दाहरूले बाह्रै महिना गाउँपालिका केन्द्र, जिल्ला सदरमुकाम सोलुखुम्बु तथा राजधानी काठमाडौँसम्म सहज रूपमा आवतजावत गर्न सक्नेछन् । हिउँदमा ह्युम पाईप मार्फत सिधा सडक सञ्चालन हुनेभएपनि वर्षायाममा दुधकोशी नदीको पानीको बहावका कारण यातायात पूर्ण रूपमा अवरुद्ध हुने समस्या रहेकामा पुल निर्माणपछि उक्त समस्या स्थायी रूपमा समाधान हुने छ।
उक्त बेलिब्रिजले स्थानीय जनजीवन, व्यापार, स्वास्थ्य सेवा तथा अन्य सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ । विशेषगरी कोशीपारी क्षेत्रका नागरिकहरू लामो समयदेखि सुरक्षित र भरपर्दो पुलको अभावमा सास्ती भोग्दै आएका थिए। पुल निर्माणसँगै सो क्षेत्रको समग्र विकासले नयाँ गति लिने स्थानीयवासीहरूको अपेक्षा छ।
शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्की, वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार गुरुङ, वडा नम्बर ५ का अध्यक्ष चन्द्रबहादुर राई, वडा नम्बर ९ का अध्यक्ष शनकुमार तामाङ, प्राविधिक कर्मचारी, कार्यपालिका सदस्यहरू, अन्य निर्वाचित जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्थानीयवासीहरूले बेलिब्रिज निर्माणलाई ऐतिहासिक र अत्यन्तै महत्वपूर्ण योजनाका रूपमा लिँदै यसको शीघ्र सम्पन्नताको अपेक्षा गरेका छन् । उनीहरूले यो पुल निर्माणले कोशीपारी क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै गाउँपालिका अध्यक्ष असिम राईलाई धन्यवाद दिएका छन ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्