पुनर्स्थापनाका लागि अदालत जाने अन्तिम तयारीमा एमाले

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाण्डौँ । नेकपा एमाले जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित अदालत जाने भएको छ । अदालत जाने प्रक्रियाका बारेमा मंसिर २ गते बस्ने विघटित नेकपा एमाले संसदीय दलको बैठकले ठोस निर्णय गर्ने एमाले नेता महेश बर्तौलाले जानकारी दिएका छन् ।

संसद् पुनर्स्थापनाका लागि पार्टीको औपचारिक निर्णय नै रहेकाले संवैधानिक परीक्षण गर्नबाट एमाले पछि नहट्ने विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक समेत रहेका बर्तौलाको भनाइ छ ।

‘मंसिर २ गते विघटित प्रतिनिधि सभा सदस्य संसदीय दलको बैठक बस्छ । पुनर्स्थापनाको पक्षमा कांग्रेसले निर्णय गरेमा दुवै दलका सांसदको हस्ताक्षरसहित सबै सांसद अदालत उपस्थित हुने, सभामुखमार्फत पठाउने वा प्रमुख सचेतकमार्फत जाने भन्ने विकल्पमा छलफल भइरहेको एमाले नेताहरूको भनाइ छ ।

एमालेले पुनर्स्थापनाको पक्षमा निर्णय गरेपछि नेपाली कांग्रेसले पनि सांसदहरूको हस्ताक्षर सङ्कलन गरेको थियो । तर कांग्रेस भित्र पुनर्स्थापनाको पक्ष विपक्षमा नेताहरू विभाजित छन् । खासगरी महामन्त्री गगन थापा पक्ष पुनर्स्थापनामा जान नहुने पक्षमा उभिएको छ भने सभापति शेरबहादुर देउवा पक्ष दोधारमा छ । सोही कारण कांग्रेसले के गर्ने भन्ने निर्णय गर्न नसकेर कांग्रेस बैठक लम्बिएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विघटनविरुद्ध अदालत जाने कि नजाने भन्ने निर्णयका लागि पार्टीले हस्ताक्षर सङ्कलन गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *