सोलुखुम्बु । लिखु पिके गाउँपालिकाको प्रशासनिक भवन निर्माणको सिलान्यास गरिएको छ । आज गाउँपालिकाको केन्द्रमा आयोजित एक समारोहकाबीच भवन निर्माणको सिलान्यास कार्यक्रम गरिएको हो ।
२०८२ साल असोज २८ गते, लिखु पिके गाउँपालिका र रामेछाप–जिरी जे.भी. निर्माण सेवा कम्पनीबीच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार भवन निर्माणमा कुल ८ करोड ३२ लाख ४६ हजार ५ सय ८९ मुआब्जा कर तथा पी.एस.सहित लागतको सम्झौता भएको थियो ।
२०८२ साल चैत्र मसान्तसम्म भवनको निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिए । तीन तले आधुनिक संरचनामा निर्माण हुने सो प्रशासनिक भवनले गाउँपालिकाको प्रशासनिक कामकाजलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतका अनुसार भवन गाउँपालिकाको दीर्घकालीन आवश्यकता थियो । उनले भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको सेवाप्रवाह अझ सहज र गुणस्तरीय बन्ने बताए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा स्थानीयहरूले पनि भवन निर्माणप्रति खुशी व्यक्त गर्दै निर्माण कार्य समयमा र गुणस्तरमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका थिए । भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाको विभिन्न शाखा एउटै भवनभित्र सञ्चालन हुने भएकाले सेवा प्रवाह सहज, पारदर्शी र नागरिकमैत्री हुने गाउँपालिकाले जनाएको छ ।
उक्त सिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रशासकीय अधिकृत अग्नी प्रसाद पराजुली, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्