म चाहेर बाहिर आएको होइन’ — जेल प्रशासनकै आग्रहमा निकालेको दाबी लामिछानेको

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाडौं – भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ। बुधबार सिंहदरबारस्थित आयोग कार्यालयमा झिकाएर साढे पाँच घण्टा लामो बयान लिइएको हो।

बयानका क्रममा लामिछानेले आफू स्वेच्छाले नभई जेल प्रशासनकै आग्रहमा जेल बाहिर आएको बताएका छन्। उनका अनुसार जेलभित्रको सुरक्षा व्यवस्था कमजोर भएपछि प्रशासनले पत्र दिएर आफूलाई बाहिर पठाएको हो।

“जेलभित्रको वातावरण नै फरक थियो,” उनले आयोगमा भनेका छन्, “म चाहेर बाहिर आएको होइन, जेलको सुरक्षाका लागि भनेर पत्र दिएर निकालिएको हो।”

२४ भदौको आन्दोलनमा देशभर तोडफोड र आगजनीका घटना भएका थिए। त्यस क्रममा आन्दोलनकारीहरूले नक्खु कारागारको गेटमा नाराबाजी गरेपछि जेल प्रशासनले लामिछानेलाई बाहिर निकालेको बताइएको छ।

आयोगले जेलर सत्यराज जोशीसँग पनि बयान लिइसकेको छ। जोशीले लामिछानेलाई पठाइएको पत्रमा रहेको हस्ताक्षर आफ्नो नै भएको स्वीकार गरेका छन्। तर, भिडको अवस्था रहेकाले पत्रमा लेखिएको व्यहोरा राम्रोसँग पढ्न नसकेको उनले बताए।

आयोग स्रोतका अनुसार जोशी र लामिछानेका बयानहरू अधिकांश बुँदामा मिल्ने खालका रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *