
साढे तीन वर्षअघिको कुरा हो। आफ्नै छोराको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी यमुना केसीको कोखबाट दोस्रो सन्तानका रूपमा उनी जन्मिएका थिए।
उनको नाम जिसन केसी राखियो। सल्यान कारागारमै आमाले उनलाई हुर्काइन्। आमासँगै उनी अहिलेसम्म कारागारमै छन्। उनकी आमा कारागारका चार दिवार नाघेर बाहिर जान पाउन्नन्। आमा बाहिर जान नपाएपछि झण्डै चार वर्ष पुगेका जिसन पनि जान पाउने कुरा भएन।
उनी छुनुमुनु गर्दै जेलकै प्राङगणमा खेल्छन्। कैदीबन्दी नै उनका परिवार भएका छन् उनीहरू नै साथी। उनी अहिले शिशु कक्षा जाने उमेरका भइसकेका छन्। तर आमा बाहिर जान नपाउने भएकाले उनी स्कुल जान सक्दैनन्।
अरू बच्चाहरूले झैँ खुला संसारमा परिवारसँग हुर्किन नपाएपनि पनि उनको शिक्षाको हक हनन् नहोस् भनेर कारागारले भने उपाय सोचेको रहेछ। उनले अक्षर पढ्न थाल्ने बेला भएको मानेर सल्यानको कारागार प्रशासनले उनका लागि एक महिला शिक्षक राखिदिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया