माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति बैठक आज, दल एकताको सहमति अनुमोदन हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज (मंगलवार) दिउँसो एक बजे बस्दै छ । बैठकले हालै विभिन्न वाम दलहरूसँग भएको एकताको सहमति पत्रलाई अनुमोदन गर्ने तयारी गरेको छ ।

यही कात्तिक १६ गते प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंहबीच एकताको सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

त्यसको भोलिपल्ट गोपाल किराँतीले पनि माओवादी केन्द्रसँग एकता गर्ने सहमति जनाएका थिए ।

यी दलहरूले आउँदो कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य एकता घोषणा सभा आयोजना गर्ने तयारी गरेका छन् ।

यसबीच, एकता प्रक्रियामा नरहेका नेताहरू — नेत्रविक्रम चन्द, माओवादीका असन्तुष्ट उपमहासचिव जनार्दन शर्मा र राम कार्की, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा महासचिव घनश्याम भूसाल लगायतबीच नयाँ वाम ध्रुवीकरणको प्रयास पनि चलिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *