काठमाडौं — त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्मका लागि बन्द गरिएको छ। जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २:३० बजेदेखि विमानस्थल बन्द गरिएको हो। बुधबार बिहानसम्म पनि स्थिति सामान्य नभएपछि विमानस्थलले दिउँसो १२ बजेसम्म उडानहरू स्थगित गर्ने निर्णय लिएको छ।
आन्तरिक उडानको सेवा दिँदै आएको प्रमुख कम्पनी बुद्ध एयरले बुधबार मध्यान्हसम्मका सबै उडान स्थगित गरिएको जानकारी गराउँदै यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, टिकट खरिद गरेका यात्रुहरूको सम्पूर्ण रकम फिर्ता गरिने कम्पनीले जनाएको छ।
विमानस्थल बन्दका कारण देशका विभिन्न गन्तव्यमा जानुपर्ने आन्तरिक उडानसमेत प्रभावित भएका छन्। बुद्ध एयरसहित अन्य वायुसेवा कम्पनीहरूका उडान पनि रद्द भएका छन्।
यसैबीच, वायुसेवा सञ्चालक सङ्घले विज्ञप्ति जारी गर्दै विषम परिस्थितिमा पनि सेवा दिन तयार रहेको बताएको छ। सङ्घका अध्यक्ष मनोज कार्कीले राष्ट्रमा उत्पन्न दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सङ्घले अर्को विज्ञप्ति निकाल्दै हाल उडान सञ्चालनमा रहेका हेलिकप्टरहरूले कुनै पनि राजनीतिज्ञ वा मन्त्रीलाई उडान सेवा प्रदान नगरेको स्पष्ट पार्दै हल्लामा ध्यान नदिन सबैमा अनुरोध गरेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्