सुनसरीमा आँप उत्पादन घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २१

धरान : जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ। हुरीबतास र किराले क्षति पुर्‍याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए।

‘किराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो। उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ। खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ,’ उनले भने।

गत वर्ष प्रतिकिलो ५० भन्दा कममै आँप बिक्री भएको उनले बताए। केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार १२४ हेक्टर क्षेत्रफलमा सात हजार १८६ मेट्रिक टन आँप उत्पादन भएको छ। गत वर्ष एक हजार १२४ हेक्टरमा सात हजार ५६५ मेट्रिक टन उत्पादन भएको थियो।

जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन्। अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ। जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताए। आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *