×

टासीले यसरी बनाए करोडौंको ‘सोनाम’ ब्रान्ड

फाल्गुन १५, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – एउटा कलिलो बालकले पेटभरि खान पाएन भने उसको मानसपटलले के सोच्दो हो ? भोको पेट हुँदा हुँदै स्कुल जानुपर्छ, पढ्नुपर्छ, अनि धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ भन्ने सोच दिमागमा आउँदो हो ?

सायद, यसको सही जवाफ टासीछोम्बे नेपालीसँग छ । टासीले भोको पेटमा पढ्नुपर्छ, अनि ठूलो मान्छे बन्नुपर्छ भन्ने कल्पनामा पनि चिताएनन् । उनको दिमागमा कसरी पेटभरि खान पाइन्छ भन्ने मात्रै घुमिरहन्थ्यो ।

र, त्यही भोको पेट लिएर सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका खुकुनडोलका ८ वर्षीय टासी काठमाडौं हुइँकिए । उनको खासै ठूला सपना पनि थिएन, पेट भर्नेबाहेक ।

टासीको घरको आर्थिक अवस्था राम्रो थिएन । बाबुआमाले पढाउन सक्ने स्थितिको कुरै भएन । त्यही बेला उनको बुबाको निधन भयो । घरको संरक्षकको निधन भएसँगै टासी बेसहरा बन्न पुगे ।

त्यसपछि कहिले काका पर्नेहरूको शरणमा बस्नुपर्ने अवस्था आयो त, कहिले मामाहरूको आश्रयमा । मामाहरूसँगै बसेर उनले ४ कक्षासम्म पढे । तर, काम नगरी खान नपाइने भएपछि उनको पढाइ साँवा अक्षर चिन्नेभन्दा माथि जान सकेन ।

त्यसपछि जीवनमा अनेक हण्डर–ठक्कर खाए । काठमाडौं, पोखरा मात्रै होइन, भारतको काशीमा समेत गएर अनेक किसिमका श्रम गरे । तर, दशकौंको मिहिनेत र लगनपछि अहिले टासी एक सफल उद्यमीका रूपमा चिनिएका छन् ।

आखिर, टासीले जीवनमा के, कति र कस्तो मिहिनेत, लगन र श्रम गरे रु जीवनको उत्तराद्र्धमा आएर एक सफल उद्यमीको पहिचान बनाृउँदा उनलाई कस्तो अनुभव हुन्छ रु अनि, एउटा प्रख्यात व्यावसायिक ब्रान्ड बनाउन केसम्म गरेनन् रु उनको जीवनकथाको फेहरिस्त यस्तो छ ।

६२ वर्षको उमेरसम्म अटुट रूपमा इमानदारीसाथ गरेको श्रम र करिब २० वर्षअघि थालेको उद्यमशीलताले आज टासीले करोडौंको कारोबार र स्थापित ब्रान्ड बनाउन सफल भएका छन् । त्यो ब्रान्ड हो– ‘सोनाम’ ।

सोनाम आज नेपालीमाझ लोकप्रिय कपडा ब्रान्ड बन्न सफल भएको छ । मुलुकभरि यसका २२ शोरुम छन् । बूढानीलकण्ठमा ८ रोपनी क्षेत्रफलमा फैलिएको ठूलो कारखाना छ । जहाँ स्थायी र दैनिक ज्यालादारी गरेर ३ सय जनाले दिनहुँ काम गर्छन् ।

सोनामले महिनाको २० हजार थान कपडा उत्पादन गर्छ । लगानी मात्रै ३० करोडभन्दा धेरै पुगिसकेको छ । वार्षिक ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्छ ।

‘रोम एक रातमा बनेको होइन’ भन्ने उक्तिजस्तै उनलाई यो सफलता पनि यसै हासिल भएको पक्कै होइन । कलिलै उेमरमा राजधानी छिरेका टासीको बस्ने स्थायी ठाउँ थिएन । कहिले कहाँ त कहिले कुन आफन्तकहाँ बस्थे र जे भेटियो त्यो काम गर्थे ।

आमा र मामाहरूसँग काठमाडौंमा बसिरहेका उनी एकपटक गाउँकै दाइ नाता पर्नेको पछि लागेर पोखरा पुगे । त्यहाँ केही समय काम गरे । तर, पोखरामा धेरै समय टिक्न सकेनन् ।

त्यसबेलाको एउटा घटनालाई उनी जीवनमा कहिल्यै भुल्न नसक्ने बताउँछन् । टासी जाडो गर्मी नभनी काम गर्थे । तर, जाडोमा लगाउन उनीसँग एउटा ज्याकेटधरी थिएन । उनले अलिअलि पैसा जम्मा पारेर ३ सय रुपैयाँमा फागुन महिनामा पर्ने ग्याल्पो ल्होसारमा आफूलाई एउटा ज्याकेट किने । त्यो ज्याकेट लगाएपछि उनलाई अनुभव भयो– न्यानो भनेको कस्तो हुँदो रहेछ ।

सन् २०२० मा भएको सगरमाथा सरसफाइ अभियान सोनाम गियर पनि सहभागी थियो ।
‘त्यसबेला मलाई लाग्यो, पहिलेदेखि नै यस्तो ज्याकेट लगाउन पाएको भए कस्तो हुन्थ्यो होला रु,’ टासी भावुक सुनिन्छन्, ‘तर, त्यो वर्ष उनले लामो समय ज्याकेट लगाउन पाएनन् । १५ दिनपछि त चैत लागिहाल्यो, गर्मी सरु भइहाल्यो ।’

त्यसपछि उनी कसैको साथ लागेर भारत बनारसतिर लागे । त्यहाँ उनले केही वर्ष छापाखानामा काम गरे । १४–१५ वर्षको केटौलो भएपछि टासी बनारसमा पनि बस्न सकेनन् । अनि, सिधै नेपाल फर्किए ।

बनारसमा जोगाएको केही पैसा बगलीमा थियो । काठडमार्डौं आएपछि त्यो पैसाले काठ कारखाना खोले । काठका बुट्टा खोप्ने काम गर्थे उनी । तर, त्यो कारखाना चलाउन सकेनन् । त्यहाँ गरेको सानो लगानी पनि भसक्कै डुब्यो ।

उनको उमेर २० वर्षजति हुँदो हो । काम नपाएर उनी छट्पटिएका थिए । त्यसैबेला एकजना दिदी नाता पर्नेले गार्मेन्ट कारखानामा काम लगाइदिइन् ।

उनको काम हेल्परको थियो । तर, त्यही मौकामा उनले कपडा कारखाना कसरी चलाउन सकिने रहेछ भन्ने कुरा चाहिँ त्यहीँ सिके ।

गार्मेन्टमा लामो समय काम गरेर उनले केही पैसा जम्मा गरेका थिए । त्यो रकम उपयोग गरेर उनले गलैंचा कारखाना खोले । केही समय त त्यो कारखानाले राम्रै नाफा दिएको थियो ।

गलैंचा कारखाना तीन वर्ष चलाए । त्यसबेला कमाएको पैसाले टासीले एउटा सानो घर पनि बनाए । तर, कार्पेट उद्योग अचानक धराशयी बन्यो । धेरै कारखाना बन्द भए । उनको पनि कार्पेट कारखाना बन्द भयो । उत्पादन भएको सामान एक डेढ वर्षसम्म स्टकमा थुप्रियो । जुन कवाडीमा बेच्नुपर्‍यो ।

कार्पेटमा पनि उनी नराम्ररी डुबे ।

फेरि, पनि काम त गर्नु नै थियो । तर, कतै जागिर पाएनन् ।

अझै पहिले नै व्यापार गरिसकेका कारण आफ्नै केही काम गर्नुपर्छ भन्ने मनमा चाहिँ थियो । तर, पैसा कहाँबाट ल्याउने रु तनाव जारी थियो । दैवले ‘तँ आँट म पुर्‍याउँछु’ भने झैं लगानी गर्ने पैसा थिएन । त्यही बेला उनकी श्रीमतीका फुपाजु एन्टी शेर्पाले मद्दत गरे ।

शेर्पाको ट्रेकिङ (पदयात्रा) जाँदा लगाउने कपडा उत्पादन गर्ने गार्मेन्ट फ्याक्ट्री थियो । ट्रेकिङका लागि चाहिने लुगा र अन्य सामग्रीको व्यापार पनि । उनैले टासी दम्पतीलाई पनि ट्रेकिङका सामान बेच्ने पसल थाप्न सल्लाह दिए ।

त्यसपछि टासी दम्पतिले सन् २००१ मा पर्यटन गन्तव्य ठमेलमा एउटा पसल खोले १० बाई २५ फिट क्षेत्रफलको । लगानी गर्न टासीसँग जम्मा २५ हजार रुपैयाँ थियो । उनले त्यो पसलमा ट्रेकिङ सम्बन्धी सामान बेच्न थाले । उनी ज्याकेट लगायत लुगा तथा अन्य एसेसरिज बेच्थे । महिनाको भाडा नै १८ हजार तिर्नुपर्थ्यो । पसलको नाम थियो– टीटी ट्रेकिङ ।

फुपाजु एन्टी आफैं पनि कतिपय कपडा उत्पादन गर्ने भएकाले टासीले पनि तिनै सामान ल्याएर बिक्री गरे । बाँकी सामान अन्यत्रबाट पनि ल्याएर बेचे । ‘मेरो पसलमा ट्रेकिङ सम्बन्धी सबै सामान पाइन्थ्यो,’ उनी सम्झिन्छन्, ‘आएका ग्राहक कुनै सामान पाइएन भनेर फर्कनु पर्दैनथ्यो ।’

त्यसबेला माओवादी द्वन्द्व चरमोत्कर्षमा थियो । पर्यटक आगमन ओरालो लागेको थियो । अन्य व्यापारीले कारोबार घटाउँदै थिए । तर, टासीको चाहिँ बढिरहेको थियो ।

व्यापार बढाउन उनीसँग थप पैसा थिएन, बैंकबाट ऋण लिन धितो । त्यसो हुँदा उनले साथीभाइसँग सरसापट गरेर व्यवसाय विस्तार गर्न थाले । लिएको पैसा भनेको समयमा नै तिर्ने उनको बानीले साथीभाइको सहयोग पाउन उनलाई सजिलो भयो ।

त्यसो हुँदा पहिलो पसल खोलेको दोस्रो वर्षमै उनले अर्को पसल पनि खोले त्यहीँ ठमेलमै । तेस्रो वर्षमा त तीनवटा पसल पुर्‍याए ।

त्यसबेला नेपालमै ज्याकेट लगायत ट्रेकिङका लागि आवश्यक कपडा उत्पादन हुन्थ्यो । तर, नर्थफेस लगायत विश्वचर्चित ब्रान्डको नक्कल गरेर । उनले पनि त्यस्तै ‘कपिक्याट’ ब्रान्ड बेच्थे ।

तर, ती कपडाको गुणस्तर राम्रो नहुने भएपछि उनी आफैंले तिनको उत्पादन गर्न थाले । आफ्नै कारखाना त थिएन, तर कच्चपदार्थ आफैंले ल्याएर आफूले भनेकै गुणस्तरमा बनाउँथे । तर, बाध्यता ब्रान्ड भने उही नर्थफेस, एडिडास, पुमा, एटलास, माउन्टेन हार्ड गियर लगायत । गुणस्तर पनि तुलनात्मक रूपमा राम्रो नै बनाएपछि मानिसहरू सजिलै झुक्किने । विदेशीहरूले पनि खुसी भएर किन्थे । नाफा पनि राम्रै भइरहेको थियो ।

तर, टासीको मन खासै खुसी थिएन । साथीभाइले ‘उहाँले नर्थफेस बनाउनुहुन्छ’ भन्थे । तर, उनलाई भने ग्लानि हुन्थ्यो । किनभने, उनी त त्यो ब्रान्डको कपी पो बनाइरहेका थिए ।

सन् २०११ आइपुगेपछि उनले अठोट गरे– ‘अरुको कपी गरेर व्यापार दिगो हुँदैन । आफ्नै ब्रान्ड बनाउनुपर्छ ।’

त्यसपछि जन्मियो– सोनाम ब्रान्ड ।

सोनाम ब्रान्डमा कपडा उत्पादन त सुरु भयो । तर, नयाँ ब्रान्ड स्थापित गर्न कहाँ सजियो थियो र रु उनी राम्रो गुणस्तरका कपडा सोनाम ब्रान्डमा बनाउँथे, ग्राहक चाहिँ नर्थफेसका नक्कली कपडा नै खोज्थे ।

तर, टासी सहजै हिम्मत हार्ने मान्छे थिएनन् । सोनामलाई स्थापित गराइछाड्ने अठोट लिए । ब्रान्ड बनाउन सुरु गरेको तेस्रो वर्षमा मात्रै बल्ल सन्तोषजनक बिक्री भयो । चौथो वर्ष गएर कम्पनीले राम्रो गरिरहेको थियो । एक्कासि, २०७२ सालमा गएको विनाशकारी भूकम्प र लगत्तै छिमेकी भारतले लगाएको नाकाबन्दीले पुनः उनको व्यापारमा नराम्रो धक्का दियो ।

टासी फेरि पनि पछि हटेनन् । त्यसअघि आउटसोर्स गरेर कपडा उत्पादन गरिरहेका उनले त्यही साल आफ्नै कारखाना खोले । त्यसले उत्पादन बढाउन मात्रै होइन, गुणस्तर नियन्त्रणमा पनि मद्दत भयो ।

सोनामले बिस्तारै नेपाली ग्राहकको मन जित्दै गयो । आधुनिक डिजाइन र गुणस्तरका कारण । त्यही साल अर्थात् सन् २०१५ मै उनले बूढानीलकण्ठको कारखाना ठूलो बनाए ।

अस्ट्रेलिया, क्यानडा लगायत देश निर्यात पनि सुरु भएको थियो । व्यापार विस्तार लोभलाग्दो भइरहेको थियो । तर, त्यहीबीच आएको कारोना भाइरस महामारी ९कोभिड–१९० ले केही समय खुम्चिनुपर्‍यो ।

तर, कोभिड प्रभाव कम हुँदै गएपछि उनको व्यापार पनि बढ्दै गयो । र, आजको सोनामको स्वरूपमा पुगेको छ ।

उनले २०११ का अन्य ब्रान्डमा कपडा बनाएर बेच्दा पनि वार्षिक १ देखि २ करोडको कारोबार थियो । २०१५ तिर पुग्दा त्यो ८ देखि १० करोड पुगेको थियो । अहिले ३९ करोड नाघेको छ । कम्पनीको कारोबार वार्षिक ३० प्रतिशतले बढरहेको टासी सुनाउँछन् ।

‘ब्रान्डको नाम सोनाम चाहिँ किन राख्नुभयो रु,’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो शर्पाहरूको नाम हो । यसको अर्थ भाग्यमानी भन्ने हुन्छ । नेपाल र भारत दुवैतिर यो नाम चर्चित भएकाले राखेका हौं।’

सुरुमा कारखानाको उत्पादन क्षमता मासिक ३ हजार थान रहेकोमा अहिले २० हजार पुगेको छ । लगानी नै ३० करोडभन्दा बढी कारोबार पुगिसकेको उनको भनाइ छ ।

‘स्थायी रोजगारीमा १ सय ५० जति कर्मचारी छन् । दैनिक ज्यालादारीको पनि हिसाब गर्दा करिब ३ सयले रोजगारी पाएका छन्,’ उनी भन्छन् ।

सुरुमा उनले ट्रेकिङ र हाइकिङका लागि आवश्यक मात्रै एसेसरिज उत्पादन गर्थे । तर, अहिले भने सबै किसिमका लुगा उत्पादन गर्छन् । अहिले सहरमा लगाउने खालका कपडामा पनि विशेष ध्यान दिएको उनको भनाइ छ ।

‘गुणस्तर कायम गर्नु नै आफ्नो एकमात्रै उद्देश्य हो,’ टासी भन्छन् ।

यहाँ स्थानीय कच्चापदार्थ नपाउने र चीन, ताइवान, भारत लगायतबाट आयात गर्नुपर्ने हुँदा त्यो यहाँ ल्याउनै करिब ६ महिना लाग्ने उनको भनाइ छ । ‘कच्चापदार्थकै कारण अहिले योजना बनाइयो भने उत्पादन बजार ल्याउन एक वर्ष लाग्छ,’ उनी भन्छन् ।

अबका दिनमा सोनाम ब्रान्डलाई विदेश पनि पुर्‍याउने उनको लक्ष्य छ । सुरुमा भारतमा आफ्नै आउटलेट बनाउने योजना छ । अहिले ३९ करोड बराबर रहेको कारोबार तीन गुणाभन्दा धेरैले बढाउने लक्ष्य छ ।

अबको तीन वर्षमा कारोबार कम्तीमा दुई गुणा बढाउने लक्ष्य पनि उनको छ । अहिले जुन गतिमा यो ब्रान्ड विस्तार भइरहेको छ । त्यही गतिमा विस्तार भए चाँडै त्यो लक्ष्य हासिल होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: