×

खुलामञ्चमा पार्किङ बनाउने निर्णयबाट पछि हटेको महानगर अब फुटबल मैदान बनाउन तम्सिए

माघ ३, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – स्थानीय बासिन्दा र संरक्षणकर्मीको विरोधपछि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको काठमाडौं महानगरपालिका त्यहाँ अब फुटबल मैदान बनाउन तम्सिएको छ ।

फेरि पनि स्थानीयवासी र संरक्षण अभियन्ताहरुले खुलामञ्चलाई प्राकृतिक चौरकै रुपमा छाड्न माग गर्दै सर्वसाधारणको पहुँच नखुम्च्याउन चेतावनी दिएका छन् । तर, स्थानीय फुटबल क्लबहरुलाई साथ लिएर महानगरपालिका जसरी पनि खुलामञ्चमा सकेसम्म कृत्रिम (प्लाष्टिक) दुबो रोप्ने र सम्भव नभए प्राकृतिक दुबो रोपेरै भए पनि दुई वटा फुटबल मैदान तयार गर्ने अडानमा छ ।

महानगरपालिकाको गत आर्थिक वर्षको बजेटमा वडा नम्बर २८ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङको पूर्वाधार निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख थियो ।

सोही अनुसार काठमाडौंले ५ हजार गाडी अट्ने गरी भूमिगत पार्किङको लागि नगर विकास कोषमार्फत अध्ययन अगाडि बढाएको थियो । तर खुलामञ्चको प्राकृतिक अवस्था खलबल्याउन नहुने भन्दै चर्को विरोध र आलोचना भयो । अहिले महानगरपालिकाले सम्भाव्यता अध्ययनबाट भूमिगत पार्किङ बनाउन सम्भव नदेखिएको बताएर खेल मैदानको योजना अघि सारेको हो ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’ का नाममा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । महानगरपालिकाको सार्वजनिक निर्माण विभाग अन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रम अन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो ।

टुँडिखेल खुल्ला हुनुपर्ने माग राखेर लामो समयदेखि अभियान चलाइरहेका आलोक तुलाधरले महानगरको नियतमै खोट रहेको बताउँछन् । उनी खुलामञ्चमा २०७३ पछि व्यवसायीहरुको स्वार्थमा आधा भागमा बसपार्क राखिएको र त्यसपछि बाँकी भागमा विभिन्न ठेकेदारहरुको क्रसर र गोदाम घरहरु बनाइएको स्मरण गर्छन् ।

अकुपाई टुँडिखेल अभियान चलाएर विरोध गरेपछि बल्ल महानगरले ती संरचनाहरु हटाएर खुलामञ्च खाली गरेको थियो । तर, त्यसपछि महानगरले खुलामञ्चको गेटमा ताला ठोकेर राखेको छ । ‘खुला पहुँचमा ल्याउनुपर्नेमा उल्टै अघिल्लो वर्ष भूमिगत पार्किङ भनियो, त्यो गलत भएको बुझ्नासाथ खुलामञ्चमा खेल मैदान बनाउने भनिंदैछ, यसमा किन महानगरले वक्रदृष्टि लगाइरहन्छ रु’ आलोक प्रश्न गर्छन् ।

तुलाधर खेल मैदान बन्नेबित्तिकै खुलामञ्च सीमित क्लब र खेलाडीको पहुँचमा मात्र हुने बताउँछन् । ‘क्लबले लिन सक्ला, कुनै टिमले आफ्नो ग्राउण्ड बनाउन सक्ला, यसले त सबैको पहुँचबाहिर पो लैजान्छ’ उनी भन्छन्, ‘यो साझा थलो हो, यसलाई कुनै वर्ग र समूहको पहुँचमा राखेर अरुलाई निषेध गर्न मिल्दैन ।’

उनले सार्वजनिक पोखरी र चौर मासेर लैनचौरमा फुटसल खेल सञ्चालन भइरहेको उदाहरण दिंदै त्यस्तो गल्ती खुलामञ्चमा दोहोर्‍याउन नहुने बताए । खुलामञ्च मासेर व्यवसायिक खेल मैदान बनाउने प्रयत्न भइरहेको भन्दै तुलाधरले भने, ‘आम मान्छेको पहुँच खुम्च्याएर सीमित वर्ग र समूहलाई पोस्न पाइँदैन ।’

सार्वजनिक स्थल र सम्पदा संरक्षणको पैरवी गर्दै आएका अधिवक्ता सञ्जय अधिकारी काठमाडौं महानगरका मेयर बालेन शाहको लहडले खुलामञ्चको अस्तित्व नै मेटिने जोखिम देखिएको बताउँछन् ।

‘उहाँलाई कतिबेला के लाग्छ, त्यही गरेर हुँदैन’, उनी भन्छन्, ‘खुलामञ्चभित्र जोसुकैले जुनसुकै बेला खुला रुपमा गएर बस्न पाउनुपर्छ, त्यसलाई अहिलेकै अवस्थामा संरक्षण गर्ने हो, यसमा पूर्वाधार थोपर्ने होइन ।’

मुक्त टुँडिखेल अभियानले खुलामञ्चमा फुटबल मैदान बनाउने निर्णय नगर्न महानगरलाई आग्रह गरेको छ । खुला सार्वजनिक जग्गाको सरकारीकरण गर्ने दूषित मनसायका साथ काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन खोजेको आरोप लगाएको छ ।


खुलामञ्च भएको क्षेत्र दैवी प्रकोपको बेला आश्रय केन्द्रको रूपमा रहेको तर दिन प्रतिदिन मासिँदै गएको अभियानले जउल्लेख गरेको छ । सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको अभियानले तथ्यांक पेश गरेको छ ।

‘खुलामञ्च सभा सम्मेलन गरिआएको ऐतिहासिक क्षेत्र हो भने हाल रहेको लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिको लागि महत्वपूर्ण क्षेत्र तथा जवीनदायिनी समेत हो’, अभियानले भनेको छ, ‘दुई वटा फुटबल ग्राउण्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको उपयुक्त प्रयोग समेत नहुने स्थिति देखिन्छ ।’

अभियानले खुलामञ्चलाई पहिलाको जस्तै घाँसे मैदानको रुपमा रहन दिनुपर्ने माग गरेको छ ।
२०३६ सालयता खुलामञ्चमा राजनीतिक दल र नागरिक समाजले विभिन्न सार्वजनिक कार्यक्रम, सभा र सम्मेलन गर्दै आएकाले यसलाई ‘जनताको मञ्च’ पनि भन्ने गरिन्छ ।

टुँडिखेलको एक भाग खुलामञ्च नेपालीले आफ्नो विचार राख्ने, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने ठाउँ मानिन्छ । विचार निर्माण गराउने सार्वजनिक थलो मासेर खेल मैदान बनाउन नहुने संरक्षणकर्मीको भनाइ छ ।

महानगरले खुलामञ्चमा फुटबल मैदान बनाउन खरिद प्रक्रिया नै अघि बढाइसकेको छ । ठेक्का प्रक्रियामा जाँदा लामो समय लागेर विवाद हुने भएकाले कामहरु टुक्र्याएर कोटेसनबाटै काम सक्ने योजनामा महानगरपालिका छ ।

मच्छिन्द्र, संकटा र न्यूरोड टिमलाई दिने योजना

खुलामञ्चमा महानगरले डिजाइन गरेको फुटबल ग्राउण्ड र गोलपोष्ट ।
महानगरले खुलामञ्चमा मैदान तयार गर्न पुरानो बानेश्वरको क्रवेट्स नेपाल प्रालि, क्रवेट्स रिक्रिएसन प्रालि र झम्सिखेल ललितपुरको सिल्क इनोभेसनसँग दररेट लिएको छ ।

महानगरपालिका स्रोतका अनुसार काठमाडौंका ‘ए डिभिजन लिग खेलिरहेका ३ वटा फुटबल क्लब ९मच्छिन्द्र, संकटा र न्यूरोड टिम०लाई खुलामञ्चमा बन्ने फुटबल मैदान दिने योजना छ । भविष्यमा प्रशिक्षण चलाउने र प्रतियोगिता नै गर्नेगरी मैदान जिम्मा लगाउने गृहकार्य महानगरको शहरी योजना आयोगले गरिरहेको छ ।

काठमाडौं महानगरपालिकाका योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी वडा कार्यालयले गरेको प्रस्ताव अनुसार दुई हप्ता अगाडि डिजाइन पठाएको बताउँछन् । ‘खेल मैदान बनाउने भनेर दशरथ रंगशाला जस्तो होइन, सामान्य खेल मैदान बनाउने हो । अहिले भइरहेको अलपत्र स्थानलाई सम्याउने, सफा गर्ने र त्यसमाथि घाँस रोपिदिने हो’, राजभण्डारीले भने ।

उनले अहिले भइरहेको नमिल्दा स्थानहरुलाई ६ इन्चजति माटो निकालेर फालिदिने र त्यसमै सम्याएर प्राकृतिक दुबो रोपिदिने योजना रहेको उनले बताए । ‘यो मर्निङ वाक, रनिङ गर्ने ठाउँ हो, दिउँसो घाम तापेर सुन्तला खाने ठाउँ पनि बनाउने हो’, राजभण्डारीले भने, ‘यो फुटबल मैदान नै बनाउने भन्ने होइन ।’

दुई वटा मैदानका लागि रेखाङ्कन गरेर ‘नट एण्ड बोल्ट’ सिस्टमको ४ वटा गोलपोस्ट राख्ने काठमाडौं महानगरपालिकाका योजना आयोगका उपाध्यक्ष डा। राजभण्डारी बताउँछन् । कुनै मेला अथवा राजनीतिक कार्यक्रम गर्दा पोस्टहरु खोलेर राख्न मिल्ने उनको तर्क छ ।

मेयर बालेन शाहका भौतिक पूर्वाधार सल्लाहकार सुनिल लम्साल स्ट्यान्डर्ड दुबो रोपेर मैदान तयार गरिने बताउँछन् । ‘महानगरले रेखाङ्कन गरेर पोष्टमा जाली राखिदिने मात्रै हो, यो सबैलाई खुल्ला हो’, लम्सालले भने, ‘घाँसे मैदान हुन्छ, यसलाई सधैं हरियो बनाउन सिँचाइको व्यवस्था हुन्छ ।’

खुलामञ्चमा कुनै पनि स्थायी भौतिक संरचना नहुने दाबी गर्दै उनले खुलामञ्च सबैको उपयोगका लागि बनाउन खोजिएको बताए । ‘मैदान बनाएपछि बच्चाहरुले आफैंले प्रतियोगिता सञ्चालन गर्छन् भने त फरक कुरा हो । १ करोड खर्च गरेर मैदान बनाउने र त्यसमा बाह्रै महिना हरियो बनाउने तयारी गरेका हौं,’ लम्सालले भने ।

टुँडिखेलमा पनि महानगरको आँखा

लम्सालले टुँडिखेलमा पनि ३ वटा मैदान बनाउने सुनाए । ‘खुलामञ्चमा २ वटा मैदान त बन्छ नै, टुँडिखेलको शहीद गेटतर्फको भागमा पनि ३ वटा घाँसे मैदान बनाउँछौं,’ लम्सालले भने ।

तर, महानगरभित्रकै अधिकारीहरु मैदान बनाएर प्रयोग गर्न दिएपछि त्यसमा नियमित खेल प्रतियोगिताहरु हुन थाल्ने र त्यसले सार्वजनिक पहुँच नै गुमाउने बताउँछन् ।

महानगरका एक प्राविधिक अधिकारी अहिले अघि बढेका मैदानसम्बद्ध योजनालाई सीमित वर्गको कुरा सुनेर आफूखुसी योजना बनाउने महानगरको त्रुटिको सिलसिला मान्छन् ।

‘खेलकुद र संगीतमा उहाँको रुचि स्वाभाविक रुपमा बढी छ, उहाँलाई क्लबहरुलाई मैदान दिन मन लागेको होला’, ती कर्मचारी भन्छन्, ‘तर, खुला स्थान संरक्षणबारेका जानकारले टुँडिखेलमै दशरथ रंगशाला बनाउनु गल्ती थियो भन्ने निष्कर्ष सुनाइरहँदा यो युगमा पनि उहाँ त्यही बाटोमा जानु दुःखद् हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: