१४ जना मजदुर पाँच दिनदेखि हिउँमा फसे: उद्रारको अपिल

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष १८

रुकुम : रुकुम पूर्वमा १४ जना मजदुर पाँच दिनदेखि हिउँमा फसेका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरू ५ दिनदेखि हिउँमा फसेका छन् । यही पौष १३ र १४ गते बाक्लो हिउँ परेपछि उनीहरू बसिरहेको ठाउँमै फसेका हुन् । वडा नम्बर २ बाट बजेट विनियोजन गरेर घोरेटो बाटो निर्माणका लागि योजना परेको थियो । सोही घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण आउन नसकेका हुन् । वडा नम्बर २ का वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आज (आइतबार) मात्रै खबर आएको थियो । उनीहरू १० जना पुरुष र ४ जना महिला रहेका छन् । जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा, नान्तेन पुन पाँच दिन देखि ओडारमा बसिरहेका छन् । खाने रासन पनि सकिएकाले समस्या भएका बताइएको छ । उनीहरू सबै वडा नम्बर २ पेल्माका हुन् । यता प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले आज मात्रै खबर आएकाले उनीहरूको उद्धारको पहल भइरहेको जानकारी दिए । हिउँमा फसेका मजदुरको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकोप्टर पठाउन आग्रह गरिएको प्रजिअ बास्कोटाले बताए । उनीहरू रहेको ठाउँको पहिचान गरी उद्धार गर्ने उनको भनाई छ ।।  :

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *