
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने एमाले कार्यकर्तालाई सार्वजनिक मुद्धा दायर गरिएको छ ।
एमालेकै विद्यार्थी नेता रहेका गणेश पंगेनीमाथि मुद्दा दायर नगर्न मेयर सुवेदीले नै भनेपनि उनीमाथि मुद्धा दायर भएको हो ।
सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा सुवेदीमाथि पंगेनीले आक्रमण गरेका थिए । सोही दिन साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
सुवेदीमाथि हातपात गर्ने पंगेनीलाई सार्वजनिक मुद्दा अन्तर्गत थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।
सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गरेको समाचार बाहिर आएपनि प्रहरीले भने सुवेदीले त्यस्तो कुनै आग्रह नगरेको बताएको छ । प्रहरी प्रमुख केसीले भने– ‘त्यस विषयमा अहिलेसम्म कसैले केही भनेको मलाई जानकारी छैन । हामी अनुसन्धानको प्रक्रियामा छौं ।’
मेयरमाथि मुक्का प्रहार गर्ने पंगेनी एमाले कार्यकर्ता हुन् । उनी एमाले निकट अनेरास्वियू रुपन्देहीको जिल्ला सदस्यको जिम्मेवारीमा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया