महामारीविरुद्ध लड्ने मुख्य उपाय नै खोप होः प्रधानमन्त्री देउवा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ ।

कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एकातिर खोप व्यवस्थापनका लागि आवश्यकपरेमा संसारका हरेक खोप निर्मातासम्म सबै खालका उपाय लगाएर पुग्नेछौँ भने अर्कोतिर पहुँच भएकाले मात्र खोप पाउने स्थिति नबनोस् भनेर खोपको वितरण सामन्यायिक हुने मानवीय आधारको हुने स्थिति पनि बनाउने छौँ ।”

यो सप्ताहान्तसम्म पूर्णमात्रामा खोप लगाएका ३२ लाखसहित कूल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएका र दैनिक तीन लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको उहाँले बताउनुभयो ।

हाल नेपालमा आइसकेको एक करोड आठ लाख खोपबाहेक आगामी असोजसम्म कम्तिमा अर्को एक करोड खोप मुलुकमा आउने भएको छ ।

यसबाहेक आगामी चैतसम्म सरकारले खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगाएर सक्ने प्रण गरेको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *