काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकुहरूले देश कब्जा अभियानलाई तिव्र बनाएका छन् ।
हालसम्म राजधानी काबुल बाहेक अन्य ठूला शहरहरु पूर्ण रुपमा तालिबानको नियन्त्रणमा आइसकेको छ ।
पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष आइतवार बिहानै तालिबानले नियन्त्रणमा लिएसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।
अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार–ए–शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।
यससँगै अफगानिस्तानका कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन्।
सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न चर्को दबाव परेको छ।
आफगानिस्तानमा युद्धको अवस्था चर्कदै जान थालेपछि त्यहाँ रहेका नेपालीहरुको विषयमा चिन्ता प्रकट हुन थालेका छन् ।
विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका बेला उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई पनि रोजगारदाताले फर्कने तयारी थाल्न भनेका छन्।
अफगानिस्तानबाट केही दिनयता भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका नेपाली नागरिकहरूले धेरैजसो रोजगारदाताहरूले अगस्ट महिनाभित्रै स्वदेश फर्कन भनिसकेको र कतिपयले फर्कने टिकट समेत काटिसकेको जानकारी दिएको एक अधिकारीले बताए।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख (डीसीएम) रामप्रसाद सुवेदीले करिब ७० प्रतिशत नेपाली कामदारलाई रोजगारदाताले नै फिर्ता जान भनिसकेको आफूहरूको जानकारी रहेको बताए।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ। “अफगानिस्तानको अवस्था हामीले नजिकबाट नियालिरहेका छौँ। त्यहाँ रहेका नेपालीहरूलाई अप्ठेरो परेको अवस्थामा उपयुक्त निर्णय लिइने नै छ,” काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्।
अधिकांश नेपालीहरू राजधानी काबुलस्थित कूटनीतिक र सरकारी कार्यालयहरू भएको क्षेत्रमा कार्यरत रहेकाले अहिलेसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ।
ग्रीन जोन भनिने उक्त क्षेत्रलाई सबैभन्दा सुरक्षित मानिन्छ।
परराष्ट्र मन्त्रालयले यसअघि काबुलमा १०० जनाको हाराहारीमा नेपालीहरू मात्र रहेको बताए पनि दिल्लीस्थित दूतावासले शुक्रवार १,५०० को हाराहारीमा नेपालीहरू त्यहाँ रहेको जानकारी दिएको छ।
तर काबुलमा हुने नेपालीको सङ्ख्या त्यसभन्दा बढी भएको आकलन गरिएको छ। गत साता ग्रीन जोनमै अफगान रक्षामन्त्रीको घरमा आक्रमण भएपछि त्यहाँ कार्यरत नेपालीहरूमा केही त्रास बढेको हालै काबुलबाट काठमाण्डू फर्किएका एक नेपालीले बताएका छन्। विसं २०७३ सालमा राजधानी काबुलको ग्रीन जोनमा कार्यरत १३ नेपालीको बम हमलामा ज्यान गएपछि सरकारले केही समय अफगानिस्तान जान कडाइ गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया