×

अफगानिस्तानमा तालिबानद्वारा राजधानी काबुलबाहेक सबै शहरहरु कब्जा

साउन ३१, २०७८ | दाक्सु मिडिया

काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकुहरूले देश कब्जा अभियानलाई तिव्र बनाएका छन् ।

हालसम्म राजधानी काबुल बाहेक अन्य ठूला शहरहरु पूर्ण रुपमा तालिबानको नियन्त्रणमा आइसकेको छ । पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष आइतवार बिहानै तालिबानले नियन्त्रणमा लिएसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।

अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार–ए–शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्। यससँगै अफगानिस्तानका कुल ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन्।

सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न चर्को दबाव परेको छ। बीबीसीका अनुसार काबुललाई जोगाउन उनीसँग आत्मसमर्मपण वा सङ्घर्षको विकल्प देखिएको छ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ।

अफगानिस्तानबाट आफ्ना फौज फिर्ता बोलाएकोमा चर्को आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले कुनै देश द्वन्द्वको मध्यमा रहेका बेला त्यहाँ अन्तहीन अमेरिकी उपस्थितिलाई आफूले सही साबित गर्न नसक्ने बताएका छन्।

एउटा लिखित वक्तव्यमा उनले भनेका छन्ः यदि अफगान सैनिकले आफ्नो देशलाई नियन्त्रणमा राख्न सक्दैन्थ्यो वा राख्दैन्थ्यो भने अर्को पाँच वर्षसम्म पनि अमेरिकी फौज त्यहाँ रहेर कुनै फरक पर्दैनथ्यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: