
बिहीबार साँझ प्रहरी कन्ट्रोलमा एउटा फोन आयो- थापागाउँको सनराइज सिटी अपार्टमेन्टमा मेरी श्रीमती झुण्डिएकी छिन्, प्रहरी आइदिनु होला।
कन्ट्रोलले मातहत प्रहरीलाई खबर गर्यो। राति करिब साढे ८ बजे महानगरीय प्रहरी वृत्त बानेश्वरबाट प्रहरी पुगे। अपार्टमेन्टको एउटा हलमा कलाकार जेनी कुँवर झुण्डिएको अवस्थामा थिइन्।
ढोकाको चौकटको माथितिर लामो काँटी ठोकेर त्यसैमा डोरीले बाँधेर झुण्डिएकी थिइन्। ‘ढोका भित्रबाट बन्द गरिएपनि बाहिरबाट पनि खोल्न मिल्ने रहेछ। साँझ जेनीका श्रीमान कामबाट घर फर्किएर ढोका खोलेर हेर्दा जेनी झुण्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका रहेछन्’, काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले भने।
जेनीका श्रीमान ५८ वर्षीय मनबहादुर कुवँरको चाबहिलमा मदिरा पसल छ। उनीहरु दुई जना मात्र अपार्टमेन्टमा बस्दै आएका थिए। प्रहरीसँगको सोधपुछका क्रममा जेनीका श्रीमानले बिहीबार बिहान खाना खाएर आफुहरु छुट्टिएको बताएका छन्।
‘बिहानसम्म सबै ठिक थियो। सँगै बसेर खाना खायौँ। म अडिटको कामले अलिक व्यस्त थिएँ’, उनको भनाइ उद्धृत गर्दै महानगरीय प्रहरी वृत्त बानेश्वरका एक अनुसन्धान अधिकारीले भने। ५० वर्षीय जेनी डिप्रेसनको बिरामी भएको उनका श्रीमानले बताएका छन्।
‘ उनी ६ महिनादेखि नियमित रुपमा ओम अस्पताल धाइरहेकी थिइन्’, जेनीका श्रीमानको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने। त्यसअघि जेनी केही समय ध्यानमा समेत बसेकी थिइन्।
प्रहरीले घटनास्थलबाट ‘सुसाइड नोट’समेत फेला पारेको छ। डायरीको तीन पेजसम्म पातलोसँग लेखिएको नोटको आशय छ- यस घटनामा कसैलाई पनि दोष नदिनू। मेरा श्रीमानले मलाई निकै माया गर्छन्। डिप्रेसनका कारण मैले आफ्नो हत्या गर्ने निर्णय लिएकी हुँ।
जेनीका माइती भारतमा बस्छन्। यस्ता घटनामा माइती पक्षलाई बोलाउने गरिए पनि जेनीका माइती भारतमै रहेकोले उनीहरुको सहमतिपछि प्रहरीले शव उठाएको थियो। ‘ घटना आत्महत्या नै हो भन्ने अवस्था बलियो देखियो’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्।
यद्यपि प्रहरीले सुसाइड नोट फरेन्सिक टेस्टका लागि पठाएको छ |
फेसबुकबाट तपाईको प्रतिक्रिया