३१ जेठ, काठमाडौं । यहि असार २० गतेभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।
विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ । असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ ।
कुनै अवरोध नभए सम्भवतः बोर्डले एसइईको नतिजा आगामी साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।
बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।
गत वर्ष प्रधानाध्यापक एक्लैले गरेको र जथाभावी नम्बर हालेर पठाएको गुनासो आएपछि यस पटक पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको हो । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान बोर्डले राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा उक्त मूल्याङ्कनलाई फिर्ता गर्न सक्ने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको बोर्डले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया