×

२०२२ को मध्य अघि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा नखोल्ने

जेष्ठ २, २०७८ | दाक्सु मिडिया

२ जेठ, काठमाडौं । सन् २०२२ को मध्यभन्दा अघि आफ्नो अन्तर्राष्ट्रिय सीमा नखुल्ने निर्णय अष्ट्रेलियाले फेरि दोहोर्‍याएको छ । पछिल्लो समय अष्ट्रेलियामा अन्तर्राष्ट्रिय सीमा खोल्न दबाब बढेसँगै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आफूहरुले स्वास्थ्यसम्बन्धी सुझावअनुसार नै यो निर्णय लिएको जनाएका छन् ।

अष्ट्रेलियाले सन् २०२० को मार्चमा आफ्नो सीमा अन्य मुलुकका र अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति नपाएका नागरिकको लागि बन्द गरेको थियो । त्यसयता धेरैजसो अन्य मुलुकमा रहेका अष्ट्रेलियाका नागरिकहरु मात्र अष्ट्रेलिया आउन पाएका छन् ।

अन्तर्राष्ट्रिय सीमा बन्द राख्न दिइएको स्वास्थ्य सुझावले अष्ट्रेलिया अहिले विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न सफल भएको अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्रिडेनबर्गले स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा बताएका छन् ।

गत साता अष्ट्रेलियाले सीमा खोल्ने योजना अघि सारे तापनि उक्त योजनामा प्रधानमन्त्री मौरिसनकै पार्टीका नेताहरुले विरोध जनाएका थिए । सीमा बन्द गर्ने निर्णय पनि अस्थायी हुनुपर्नेमा धेरै लामो समयसम्म सीमा बन्द हुन लागेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: