काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या सबैभन्दा उच्च देखिएको छ । दोस्रो लहरको सङ्क्रमण देखा परेसँंगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार देशभर थप पाँच हजार ७६३ जना व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ।
यसअघि पहिलो लहरको सङ्क्रमणका क्रममा गत कात्तिकमा एकै दिन पाँच हजार ७४३ जना सङ्क्रमित भएका थिए । राजधानी उपत्यकासँगै देशका कतिपय जिल्लामा निषेधाज्ञा लगाइरहँदा सङ्क्रमितको सङ्ख्या भने हालसम्मकै उच्च भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार १४ हजार ४०३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका हुन् ।
यस्तै ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना सङ्क्रमित थपिएर पाँच हजार ७६३ पुगेको हो । नयाँ सङ्क्रमणसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको छ भने निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ । शनिबार नेपालमा थप १९ जना सङ्क्रमितको मृत्यु भएको छ ।
योसँंगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २९८ पुगेको छ । यस्तै शनिबार थप एक हजार २८७ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ८५ दशमलव ९ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमण दर उच्च रहेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा दुई हजार ४९५ सङ्क्रमित थपिएका छन् ।
काठमाडौँमा एक हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना सङ्क्रमित थपिएका हुन् ।देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४३ हजार २१३ पुगेको छ भने क्वारेन्टाइनमा ६७ जना छन् । यसैबीच देशभर हाल ५११ जना सङ्क्रमित विभिन्न अस्पतालको आाईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया