काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । फागुन १० गते सुरुङमा हालिएको पानी १२ दिनपछि सुन्दरीजल आइपुगेको हो । यही फागुन १० गते सुरुङमा हालिएको पानी साढे २६ किलोमिटर सुरुङ भरिएर शनिबार साँझ सुन्दरीजलमा खसालिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी पठाएको हो ।
गत असारमै सुरुङमा पानी परीक्षण गर्ने क्रममा हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट नं १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएपछि पुनः परिक्षणका लागि भन्दै उक्त कार्य रोकिएको थियो । त्यसपछि गेट लगायत अन्य संरचनाको पुनः जाँच गरी पानी पठाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार टनेलको गेटको बटन थिचेपछि पानी सुन्दरीजलमा खसेको हो । बहुप्रतिक्षित मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा खसेपछि अब घर घरमा पानी पुग्नेछ ।
शुरुको पानी फोहोर आउने भएकाले बागमती नदीमा खसालिएको छ । योसँगै बागमतीको बहाव समेत बढेको छ । पानी केही दिनमै वितरण हुने भएको छ ।
२३ वर्ष अघि २०५५ सालमा मेलम्ची खानेपानी आयोजना सुरु भएको थियो । निकै लामो समयपछि मेलम्ची खानेपानी काठमाडौं खस्नुले पानी खाने काठमाडौंवासीको सपना पूरा हुने भएको छ ।
मेलम्चीको पानी काठमाडौं आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले लामो सपना पूरा भएको बताए । उनले कोशी ब्यारेज भएर जाने पानी अब काठमाडौं हुँदै बागमती प्रदेश र प्रदेश २ मा जाने बताए ।
प्रधानमन्त्री ओलीले केही दिनमै काठमाडौँबासीका घरका धाराहरुमा मेलम्चीको पानी खसाइने बताए । उनले अहिले खोलामा पानी छाडेको बताउँदै प्रशोधनपछि काठमाडौँमा पानी झार्ने बताए ।
‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झ¥यो। अहिले खोलाबाट पानी छाड्यौं । अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।’ उनका अनुसार सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया