काठमाडौँ-सुनसरीको बराह क्षेत्रबाट एक किलोमिटर माथि अरुण, तमोर र दूधकोशी नदी मिसिएको ठाउँमा खुवालुङ ढुंगो छ । करिब २० फिट चौडाइको उक्त ढुंगो नदीको बीच भागमा गाडिएर बसेको छ ।
नदीको बीचमा रहेकाले यसमा पानीजहाज ठोक्किने सम्भावना देखाउँदै खुवालुङ भत्काउने सरकारको योजना छ । यद्यपि अहिले ३० देखि ५० जना अट्ने मेसिन-बोट खुवालुङ ढुंगाको छेउबाट वारपार गर्छ । बोटले बराह क्षेत्र घुम्न आउने पर्यटकलाई चतरा पुलदेखि लैजाने-ल्याउने व्यवसाय गर्दै आएको छ ।
अहिले चलिरहेको भन्दा ठूलो बोट ल्याउँदा ढुंगो बाधक बन्ने व्यवसायी र प्रदेश सरकारको तर्क छ । उनीहरूले जहाज चलाउन सहज हुने भन्दै ढुंगा फोर्नुपर्ने बताउँदै आएका छन् ।
मुन्धुमविद् इन्द्रहाङ खम्बुका अनुसार किराँत भाषामा ‘खुवा’ भनेको पानी र ‘लुङ’ भनेको ढुंगा हो । जसबाट खुवालुङ भनेको पानीमा गाडिएको ढुंगा भन्ने बुझिन्छ ।
किराँत धर्मग्रन्थ ‘मुन्धुम’मा पनि खुवालुङबारे प्रष्ट उल्लेख गरिएको खम्बु बताउँछन् । उनी भन्छन्, ‘किराँत समुदायले कुनै कार्य (अनुष्ठान) शुरू वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ ।’
मुन्धुम अनुसार नै किराँतीको पुर्खा खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको जनविश्वास यस्तो छ –
किराँत राईका आदिम पुर्खा मुकुबुङ (भोटे) जेठा, हर्कबुङ (किराँत) माइला र रिब्लबुङ (थारू) कान्छासहित तीन भाइ थिए । उनीहरू समथर भूमिबाट उकालो चढी खुवालुङ पुग्दा ढोका बन्द थियो । मुकुबुङले केकी (जुरेली) चराको भोग दिएपछि उक्त ढोका खुलेपछि उनी पार गरे ।
यता माइला भाइ हर्कबुङले ढोका पार गर्न सकेनन् । उनले पनि सँगै रहेकी चेलीको कान्छीऔंला काटेर रगत दिएपछि ढोका खुल्यो र पार गरे । कान्छा रिब्लबुङले भने नदी पार गर्न र दाइहरू गएको बाटो पत्ता लगाउन सकेनन् । त्यसपछि उनी तराईतिर फर्किएर बसोबास गरेको कथन छ ।
जेठाको सन्तान हिमाली भेगसम्म पुगेर त्यहीं बसोबास गरेको, माइला हर्कबुङका सन्तान कोही सुनकोशीको किनार आसपासमा बसोबास गरेका तथा कोही दूधकोशी पछ्याउँदै सोलुखुम्बुको आसपासमा बसोबास गरेको विश्वास गरिन्छ ।
कालान्तरमा कुलुङ, थुलुङ, बाहिङ, खालिङ, बाम्बुले, बान्तवा, दुङमाली भए । अरुण नदी पछ्याउँदै संखुवासभा, क्षेत्रमा बसोबास गर्नेहरू कालान्तरमा मेवाहाङ, याम्फु, लोहोरुङ राई भाषिक समुदायका
तमोर पहिल्याउँदै त्यसैको आसपासमा बसोबास गर्नेहरू आठपहरिया, छिलिङ, छिन्ताङ्, मुगाली आदि राई भाषिक समुदाय भए भन्ने बताइन्छ । यसरी आफूहरूका पुर्खाले मान्दै आएको खुवालुङ सांस्कृतिक सिमानाका रूपमा रहँदै आएको अध्येता खम्बुको भनाइ छ ।
स्थानीयवासी दुर्गा राई पनि खुवालुङलाई देवता बसेको ढुंगा मान्छिन् । राईका अनुसार किराँतहरूको अधिकांश संस्कार यही ढुङ्गाबाट शुरू गर्ने परम्परा छ । अहिले खुवालुङ पारिपट्टकिो पाखामा एकदर्जन घर-परिवार धनकुटातर्फ बसोबास गरिरहेका छन् । मेसिनबोट चल्न थालेपछि उनीहरू माछा मार्ने, पसल थाप्ने जस्ता साना व्यावसायिक काम गर्दै आएका छन् ।
खुवालुङ फुटाउने कुराको चौतर्फी विरोध हुन थालेपछि ‘सप्तकोशी जलमार्ग निर्माण उपभोक्ता समिति’ पनि पछि हटेको देखिन्छ । समितिका अध्यक्ष एवं निर्माण व्यवसायी विशाल राई प्रदेश सरकारको निर्णयअनुसार चल्ने बताउँछन् । यसअघि उनले सहज यात्राका लागि सकेसम्म चाँडो खुवालुङ ढुंगा फोर्ने बताउँदै आएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया