×

जापानमा १ महिना सङ्कटकाल थप्ने तयारी

माघ २०, २०७७ | दाक्सु मिडिया

टोकियो – जापानमा जारी गरिएको संकटकाल थप एक महिना लम्ब्याउने तयारी भएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो ।

महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरी लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् । राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ।

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए । संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने भएका छन्।

उनले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै संकटकालको अवधि लम्व्याउने निर्णय गर्ने अधिकारीहरूले जनाएका छन् । हाल जारी गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नुपर्ने भएको हो ।

जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या तीन लाख ९२ हजार ४७५ पुगेको छ । त्यसैगरी जापानमा कोरोनाका कारण अहिलेसम्म पाँच हजार ८४६ जनाको मृत्यु भएको सोमबार बेलुकासम्मको तथ्याङ्क छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: