काठमाण्डौँ । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर यो पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चक पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
धर्मशास्त्रविद् एवं समिति सदस्य प्रा। डा.देवमणि भट्टराईले दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको जानकारी दिए । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्त को समय उत्तम रहेको समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले बताएका छन् । शास्त्रीय नियमअनुसार, यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । धर्मशास्त्रविद् भट्टराईका अनुसार, शास्त्रीय मान्यतामा तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
यसैबीच, दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक खुल्ने गर्दछ। यहाँ गएर पूजा, दर्शन गरी टीका लगाउने प्रचलन छ । यस्तै, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । यद्यपि, भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीले गरेको निर्णयअनुसार भक्तपुरका नेवार समुदायका केहीले भने मङ्गलबार नै किजापूजा गरेको जनाइएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्