काठमाडौं, साउन १४ — आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। नेदरल्यान्ड्सको युट्रेच्टमा सम्पन्न खेलमा घरेलु टोलीले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने रोहित पौडेलले २६ र करण केसीले २३ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले उल्लेखनीय साझेदारी गर्न नसक्दा नेपाल लक्ष्यसम्म पुग्न असफल भयो। नेदरल्यान्ड्सका काइल क्लाइनले तीन विकेट लिए भने लोगान भान बिक, रुलोफ भान डर मर्वे र ज्याक लायन–काचेटले समान दुई–दुई विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। घरेलु टोलीका नोआ क्रोसले ७० तथा कप्तान स्कट एडवर्ड्सले ५७ रनको महत्वपूर्ण योगदान दिए। नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले दुई तथा हेमन्त धामी र ललित राजवंशीले समान एक–एक विकेट लिए।
यस हारसँगै नेपाल विश्वकप लिग–२ को आठौँ त्रिकोणात्मक शृङ्खलामा लगातार चार खेल गुमाउँदै जितविहीन बनेको छ भने नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्