अछाम — मध्यपहाडी राजमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोड क्षेत्रमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शुक्रबार साँझ दार्चुलाबाट जुम्लातर्फ गइरहेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुर हेटौँडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरूलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ शनिबार बिहान चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरी टोलीले तत्काल उद्धार गरी घाइतेहरूलाई दैलेखको राकम कर्णाली आधारभूत अस्पताल पुर्याएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि सबै घाइतेलाई सुर्खेत रिफर गरिएको थियो।
घाइतेमध्ये सिराहाको कल्याणपुर नगरपालिका–१० निवासी २७ वर्षीय सन्तकुमार साह र बाँकेको नेपालगञ्ज निवासी चालक २८ वर्षीय राजराजेन्द्र भिमराज चट्टान गुप्ता गम्भीर अवस्थामा रहेका छन्। साथै स्याङ्जाको फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेलको टाउको र छातीमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्