काठमाण्डौँ । एमाले उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह आफ्नो संवैधानिक र संसदीय दायित्वबाट भाग्न खोजेको भन्दै आलोचना गरेका छन् ।
सामाजिक सञ्जालमा बिहीबार एक स्टाटस लेख्दै उनले सरकारको नीति तथा कार्यक्रम र संसदमा उठेका प्रश्नहरूको जवाफ दिनबाट प्रधानमन्त्री पन्छिन खोजेको आरोप लगाएका हुन् ।
संसदीय लोकतन्त्रमा जनप्रतिनिधिमूलक संस्था संसद्को गरिमा र महत्व उच्च हुने स्मरण गराउँदै भट्टराईले प्रधानमन्त्री संसद् र जनताप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन् ।
‘राष्ट्रपतिद्वारा संसद्मा वाचन गरिएको नीति तथा कार्यक्रम सारमा प्रधानमन्त्रीकै अवधारणा हो,’ उनले भनेका छन्, ‘त्यससम्बन्धी उठेका प्रश्नमा स्वयं अवधारणाकारको अलावा अरू कसले चित्तबुझ्दो जवाफ दिन सक्ला र ?’
संसदमा भाग लिनु, छलफलमा उठेका सवालहरू स्पष्ट पार्नु र संसद्का निर्णय तथा निर्देशनहरूको पालना गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको भट्टराईको भनाइ छ। भट्टराईले प्रश्न गरेका छन्, ‘तर हाम्रा प्रधानमन्त्री यो संवैधानिक तथा पदीय दायित्वबाट किन भाग्न खोजिरहनुभएको छ ? ’
अन्य लोकतान्त्रिक मुलुकहरूको अभ्यास उदाहरण दिँदै उनले ती देशहरूमा प्रधानमन्त्रीले विशेष सम्बोधन, घोषणा वा विदेश भ्रमणबारे संसद्मार्फत नै जानकारी दिने र रोस्टममा उभिएर बोल्दा गर्व महसुस गर्ने गरेको बताएका छन् ।
यसविपरीत नेपालका ‘युवा प्रधानमन्त्री’लाई यी विषयले किन आकर्षण गरिरहेको छैन भन्दै भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् । लोकतान्त्रिक अभ्यासमा प्रक्रिया मिचेर वा संसद्लाई छलेर हिँड्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने भट्टराईले बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्