आज संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका बारेमा विस्तृत छलफल हुने बताइएको छ ।

यसका साथै, कार्यदलले आगामी दिनमा गर्ने कामकारबाही र प्रस्तावित कार्ययोजनाका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ । संविधानलाई थप परिष्कृत र समयसापेक्ष बनाउनका लागि राजनीतिक दलहरूको सुझावलाई समेत समेटेर साझा बहसपत्र तयार गर्ने जिम्मेवारी यो कार्यदललाई दिइएको छ ।

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट संविधान सभाका सदस्य एवं डा. भीष्म अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्व कानुन मन्त्री देवप्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट, श्रम संस्कृति पार्टीका तर्फबाट ध्रुवराज राई, जनता समाजवादी पार्टी नेपालबाट सुरेन्द्रकुमार झा, लोसपाबाट आभास लाभ सदस्य छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Ron3636

    April 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *