काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा आह्वान गरिएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय मान्यता प्राप्त ६ दलका ६ सांसदले सम्बोधन गर्ने सहमति भएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम छ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने तय भएको छ। कांग्रेसका शीर्ष नेताहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका कारण आङ्देम्बेलाई बोल्ने जिम्मेवारी दिइएको जनाइएको छ।
नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्नेछन् भने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसैगरी, श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि बैठकमा सम्बोधन गर्नेछन् ।
नयाँ प्रतिनिधिसभाको पहिलो बैठक भएकाले आजको बैठकलाई विशेष महत्वका साथ हेरिएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्