झापा । नेपाली कांग्रेसले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका मतदाता, शुभेच्छुक, राजनीतिक दल, कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ । सभापति गगन थापाले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न गर्नमा सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै आभार व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा सभापति थापाले लेखेका छन्, ‘प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रुपमा अभिव्यक्त भएको छ। निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु ।’
निर्वाचनले लोकतान्त्रिक प्रणालीप्रति मतदाताहरूको गहिरो विश्वासलाई पुष्टि गरेको थापाको भनाइ छ । निर्वाचनमा मतदाताले देखाएको सक्रियताले राजनीतिक दलहरूलाई अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्ने थप जिम्मेवार बनाएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई थापाले धन्यवाद दिएका छन् । निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति आभार र बधाई थापाले दिएका छन् ।
उनले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दलहरू, सञ्चारकर्मी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि धन्यवाद दिएका छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्