काठमाण्डौँ । नेपाली कांग्रेसले संघीय राजधानी क्षेत्रका लागि साझा विकास मार्गचित्र सार्वजनिक गर्ने भएको छ। काठमाडौं उपत्यकाअन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुर का प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका १५ जना उम्मेदवारहरूले संयुक्त रूपमा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हुन् ।
उपत्यकामा काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ गरी १५ संघीय निर्वाचन क्षेत्र छन् । ती सबै क्षेत्रका उम्मेदवारहरू एकै मञ्चमा उभिएर ‘भिजन १०’ सहितको साझा विकास योजना सार्वजनिक गर्ने तयारी गरिएको हो ।
पार्टीका महामन्त्री तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल का अनुसार उपत्यकाको दिगो विकासलाई केन्द्रमा राखेर आगामी पाँच वर्षमा कार्यान्वयन गरिने योजनाको खाका तयार पारिएको छ। उनले यातायात व्यवस्थापन, सहरी पूर्वाधार, तथा संघीय राजधानीसँग सम्बन्धित अन्य मुख्य मुद्दामा उम्मेदवारहरूबीच परामर्श गरी साझा प्रतिबद्धता तयार गरिएको जानकारी दिए ।
कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंको विशालनगरस्थित भाटभटेनी सुपरमार्केट ( विशालनगर मा आयोजना हुने बताइएको छ । कार्यक्रममा तीनै जिल्लाका उम्मेदवारहरूको उपस्थिति रहने नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति का सचिव सुशन वैद्यले जानकारी दिएका छन् ।
उम्मेदवारहरूले सार्वजनिक गर्ने उक्त मार्गचित्रलाई उपत्यकाको समग्र विकासका लागि साझा राजनीतिक प्रतिबद्धताका रूपमा हेरिएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्