सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गरेको एमालेको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाण्डौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास सिर्जना गरेको आरोप लगाएको छ ।

सर्वसाधारण जनताको शान्ति सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको हो । पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले यसले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको बताए ।

एमाले प्रचार विभाग प्रमुख शाहीले मधेस तराईका विभिन्न जिल्लामा लगाइएको कफ्र्यूले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्‍याउने काम गरिएको भन्दै चिन्ता व्यक्त गरे। सरकारको यो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्यमान्यतामाथि नै प्रश्न उठाएको एमालेको ठहर छ ।

समाजमा अनेक बहानामा निर्वाचन सार्ने भ्रामक हल्ला चलेकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै चुनाव हुनुपर्ने अडान दोहोर्‍याएको छ । एमालेले आफूलाई स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी गर्दै शाहीले ‘भोट फर चेन्ज’ होइन, ‘भोट फर नेशन’ को नारा अघि सारेको बताए ।

प्रतिनिधि सभा विघटनको प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान राख्दै एमालेले सर्वोच्च अदालतको आलटालप्रति असन्तुष्टि जनाएको छ । अर्कोतर्फ, महान्यायाधिवक्ताको कार्यालयले ‘जेनजी’ उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले दण्डहीनता मौलाउने वातावरण बनेको एमालेको आरोप छ ।

निर्वाचनको यो संवेदनशील घडीमा केही सञ्चारमाध्यमबाट एकपक्षीय मत सर्वेक्षण सार्वजनिक गरी जनमत प्रभावित पार्न खोजिएको भन्दै एमालेले आपत्ति जनाएको छ । यस्ता प्रायोजित तथ्याङ्कले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको र पत्रकारिताको विश्वसनीयता गुमाएको शाहीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *