काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका छन् ।
पार्टीले अंगीकार गरेको प्राइमरी इलेक्सन नगरी उम्मेदवार बनाएपछि पार्टी छाडेको उनले बताएका छन् ।
रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए । तर, प्राइमरी इलेक्सन नगरी पार्टीले सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो । लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका व्यक्ति हुन् ।
उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।
समानुपातिकमा नाम राखिदिने भनेर ५० हजार र प्रत्यक्षमा २५ हजार रकम लिने भ्रष्टाचारको नयाँ तरिका भएको आरोप कुँवरको छ ।
रास्वपाले विदेशमा रहेका धेर नेपालीको भावनामा खेलवाड गरेको र विदेशमा सेटल भएर बसेका नेपालीलाई धोका दिएर बिगारेको कुँवरको भनाइ छ ।
उनले अब आफू रवि लामिछाने वा अरु कसैले भने पनि रास्वपामा नफर्किने जिकिर गरेका छन् ।
हिजो मात्रै रास्वपाका नेता प्रणयशमशेर राणाले पनि पार्टीले प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शी काम गरेको बताएका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्