प्रतिनिधि सभा निर्वाचनको तयारीमा नेपाली कांग्रेस सोलुखुम्बु, पाँच समिति गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २१

सोलुखुम्बु — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सोलुखुम्बुले संगठनात्मक गतिविधि तीव्र पारेको छ। जिल्लामा बसेको रणनीतिक बैठकबाट निर्वाचन केन्द्रित पाँचवटा समिति गठन गरिएको छ।

सल्लेरीमा सम्पन्न बैठक जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा बसेको थियो। बैठकले पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन परिचालनदेखि अनुगमन, प्रचार–प्रसार र व्यवस्थापनसम्मका समिति गठन गर्ने निर्णय गरेको हो।

बैठकबाट जिल्ला सभापति शेर्पाकै संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ। समितिमा जिल्ला कार्य समितिका सदस्य, प्रदेश सदस्य, प्रदेश क्षेत्रीय निर्वाचन क्षेत्रका सदस्य तथा गाउँपालिका सभापतिहरूलाई समेटिएको छ।

त्यसैगरी पूर्व मन्त्री बलबहादुर केसीको नेतृत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ। समितिका सदस्यमा कांग्रेस नेता आङगेलु शेर्पा, पूर्व जिल्ला सभापति विनोद बस्नेत, छत्र बस्नेत र प्रभुराम बस्नेत रहेका छन्। साथै केन्द्रीय सदस्य धर्म नेपाली र छिण्डील्हमकु शेर्पालाई पनि समितिमा समावेश गरिएको छ।

निर्वाचन प्रचार–प्रसार समिति जिल्ला उपसभापति तथा नेले वडा अध्यक्ष घनराज सुनुवारको संयोजकत्वमा गठन गरिएको छ। समितिमा जिल्ला कार्य समितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, कोशी प्रदेश सभा सदस्य र भ्रातृ संगठनका प्रतिनिधिहरू रहनेछन्।

यसैगरी स्थानीय प्रशासन समन्वय समिति को संयोजकको जिम्मेवारी सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङलाई दिइएको छ। समितिमा नगरपालिका तथा प्रदेश समितिका कार्य सम्पादन समिति सदस्यहरू र स्थानीय तहका निर्वाचित वडा अध्यक्षहरू सहभागी रहने व्यवस्था गरिएको छ।

बैठकले निर्वाचन व्यवस्थापन सचिवालय समिति पनि गठन गरेको छ। जिल्ला सचिव युवराज घिमिरेको संयोजकत्वमा बनेको उक्त समितिमा महाधिवेशन प्रतिनिधि पूजा फुयाल र राधिका श्रेष्ठ सदस्य रहेका छन्।

नेपाली कांग्रेस सोलुखुम्बुले निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउन विभिन्न समिति गठन गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *