मुस्ताङ — लगातारको हिमपातले अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडक खुलाउन स्थानीय प्रशासनले पहल थालेको छ। जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर आयोजनाको डोजर प्रयोग गरी सडकको हिउँ हटाउने काम सुरु गरिएको हो।
वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा कागबेनी क्षेत्रबाट सडक सफा गर्ने कार्य अघि बढाइएको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार बाक्लो हिउँ जमेकाले डोजर परिचालन गरेर चरणबद्ध रूपमा सडक खुलाइनेछ।
मङ्गलबारको भारी हिमपातपछि अवरुद्ध सडकका कारण सयौँ दर्शनार्थी कागबेनीमै रोकिएका थिए। सुरक्षाकर्मीमार्फत हिउँ हटाउन प्रयास भए पनि मौसम अनुकूल नहुँदा सम्भव नभएपछि डोजर प्रयोग गरिएको जनाइएको छ।
कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्म बाक्लो हिउँ जमेकाले साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ। सडक बन्द हुँदा मुक्तिनाथ मन्दिर क्षेत्रमा दर्शनार्थीको आवागमन ठप्प भई मन्दिर सुनसान बनेको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्