जिल्लाकै पहिलो महिला उम्मेदवारका रूपमा कल्पना राई

DaksuMedia दाक्सु मिडिया
|
माघ ७, २०८२

सोलुखुम्बु — आगामी फागुन २१ गते हुने संघीय संसद् प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। हिमाली जिल्ला सोलुखुम्बुमा विभिन्न राजनीतिक दलबाट उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। तीमध्ये १२ उम्मेदवारबीच एक मात्र महिला उम्मेदवारका रूपमा नेकपा (एमाले) नेतृ कल्पना राई चुनावी मैदानमा उभिएकी छन्।

सूर्य चुनाव चिह्नसहित प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी राई जिल्लाकै पहिलो महिला उम्मेदवारका रूपमा इतिहास रच्ने लक्ष्यसहित अघि बढेकी छन्। पुरुष उम्मेदवारहरूको भीडमा पनि उनी आत्मविश्वासका साथ देखिएकी छन्। सोलुखुम्बुको राजनीतिमा अब भाषणभन्दा कामले परिणाम देखाउने समय आएको उनको भनाइ छ।

विक्रम संवत् २०४५ साल कार्तिक १६ गते तत्कालीन सोताङ गाउँ पञ्चायत–५, गोर्खिममा जन्मिएकी कल्पना राई संघर्ष, अनुशासन र सेवाभावबाट खारिएकी नेतृ हुन्। गुमान सिंह राई र सञ्चमाया राईको सन्तानका रूपमा जन्मिएकी उनले राजनीतिलाई सुविधा होइन, जिम्मेवारीका रूपमा बुझ्दै यात्रा सुरु गरेकी हुन्।

शिक्षाशास्त्रमा स्नातकोत्तर र कानूनमा एलएलबी पूरा गरेकी राई पेशाले अधिवक्ता समेत हुन्। उनी भाषणमा मात्र सीमित नभई कानुनी र नीतिगत समाधान दिन सक्ने सक्षम नेतृका रूपमा चिनिन्छिन्।

उनको राजनीतिक यात्रा २०५८ सालमा अनेरास्ववियुबाट सुरु भएको हो। प्रारम्भिक समिति अध्यक्षदेखि जिल्ला सचिव, अञ्चल सचिव हुँदै केन्द्रीय कमिटी सदस्यसम्मको जिम्मेवारी सम्हाल्दै उनले संगठन निर्माणमा सक्रिय भूमिका खेलिन्। यही कारण उनी चुनावी समयमा मात्र देखिने नेतृ नभई सधैं जनतामाझ रहने नेतृका रूपमा परिचित छिन्।

२०६५ सालदेखि नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीमा सक्रिय रहेकी राई १४ वर्षसम्म सचिवालय सदस्य र २०८० सालदेखि जिल्ला कमिटी सचिवको जिम्मेवारीमा छन्। लामो संगठनात्मक अनुभवले उनलाई नीति निर्माण, कार्यान्वयन र परिणाम निकाल्न सक्षम बनाएको छ।

२०७४ सालमा सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि उनले काम गरेर जनविश्वास जितिन्। विकास, सुशासन, सामाजिक न्याय र महिला सशक्तीकरणमा उनको योगदान आज पनि स्थानीयले अनुभूति गरिरहेका छन्। दुर्गम क्षेत्र विकास समिति र सुकुम्बासी समस्या समाधान आयोगमा रहेर उनले समस्याको जड पहिचान गर्दै समाधानका बाटा खोजिन्।

उनको नेतृत्वमा उपमेयर पद औपचारिकतामा सीमित रहेन, जनताको आवाज बुलन्द गर्ने प्रभावकारी थलो बन्यो।

कल्पना राईको उम्मेदवारी केवल एक व्यक्तिको प्रतिनिधित्व मात्र होइन, दशकौंदेखि दोहोरिँदै आएका पुराना शैली र अनुहारहरूबाट परिवर्तनको संकेत हो। सोलुखुम्बुका लागि नयाँ सोच, नयाँ ऊर्जा र नयाँ नेतृत्वको चाहनाको प्रतिफलका रूपमा उनको उम्मेदवारीलाई हेरिएको छ।

“मैले सत्ता होइन, सेवा रोजेकी हुँ। प्रतिनिधि सभामा पुगेर सोलुखुम्बुको आवाज सिंहदरबारसम्म बुलन्द बनाउनेछु,” राई भन्छिन्।

स्पष्ट दृष्टिकोण, प्रमाणित कार्यक्षमता र आत्मविश्वासले भरिएकी कल्पना राई पुरुष उम्मेदवारसँग मात्र होइन, पुरानै राजनीतिक शैलीसँग प्रतिस्पर्धा गर्दै सोलुखुम्बुको राजनीतिक इतिहास बदल्ने दृढ संकल्पका साथ अघि बढिरहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *