पहिलो किस्ता बुझाएपछि उद्योगहरूमा बिजुली पुनः जडान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २७

काठमाडौं — डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादका बीच केही उद्योगहरूले पहिलो किस्ता बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले उनीहरूको विद्युत् लाइन पुनः जडान गरेको छ।

प्राधिकरणका अनुसार बुधबार जगदम्बा स्टिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता बराबरको रकम बुझाएका छन्। यसअन्तर्गत जगदम्बा स्टिल्सले ५ करोड ७२ लाख, घोराहीले १ करोड ८१ लाख, अर्घाखाँचीले १ करोड ६० लाख, र त्रिवेणीले १ करोड १४ लाख रुपैयाँ तिरेका छन्।

यसअघि प्राधिकरणले बक्यौता नबुझाएको भन्दै कात्तिक ४ र ७ मा २३ वटा उद्योगको बिजुली काटेको थियो। तर तिहारपछि भलवारी स्वचालित चामल उद्योग, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, श्याम प्लास्टिक, सिद्धार्थ पेट प्लास्ट, घराना फूड्स, गोयन्का फूड्स, रिलायन्स स्पिनिङ मिल्स, र त्रिवेणी सिन्थेटिकले पनि पहिलो किस्ता बुझाएपछि उनीहरूको लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ।

यही कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, मुख्यसचिव एकनारायण अर्याल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालबीच भएको छलफलमा डेडिकेटेड र ट्रंकलाइन महसुल भुक्तानी सरलीकरण र पुनरावलोकन प्रक्रिया अघि बढाउने सहमति भएको थियो।

उद्योगीहरूले पहिलो किस्ताको रकमलाई विवादित धरौटीको रूपमा बुझाउने र त्यसपछि पुनरावलोकन तथा न्यायिक प्रक्रिया अघि बढाउने मौखिक सहमति भएको बताइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कात्तिक २१ गते ऊर्जा मन्त्रालयलाई उद्योग सञ्चालन सहज बनाउन निर्देशनसमेत दिएको थियो, जसअनुसार मन्त्रालयले प्राधिकरणलाई पत्र पठाएर कार्यान्वयन प्रक्रिया अघि बढाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *