स्थानीय निर्वाचनका लागि सोलुखुम्बुमा गठबन्धन संयन्त्र निर्माण

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २५

स्थानीय तहको आगामी निर्वाचनका लागि सोलुखुम्बुमा सत्तारुढ पाँच दलीय गठबन्धनको जिल्ला स्तरीय संयन्त्र निर्माण भएको छ । शुक्रबार सदरमुकाम सल्लेरीमा बसेको गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा गठबन्धनका लागि संयन्त्र निर्माण गरेको हो । जिल्ला स्तरीय संयन्त्र निर्माणसँगै सोलुखुम्बुमा स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ दलहरुको गठबन्धन हुने निश्चित भएको छ ।
बैठकले नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पा, नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समिति, सोलुखुम्बुका संयोजक असिम राई, नेकपा एकीकृत समाजवादी, सोलुखुम्बुका अध्यक्ष दोर्जी जाङबु लामा र जनता समाजवादी पार्टी, सोलुखुम्बुका अध्यक्ष नरेन्द्र थापा मगर रहेको संयन्त्र निर्माण गरेको हो । बैठकपश्चात गठबन्धनले संयुक्त प्रेस वक्तव्य समेत जारी गरेको छ ।
निर्वाचनमा सत्तारुढ गठबन्धनमा सम्बद्ध दलहरुले गठबन्धनमा सम्बद्ध पाँच दलबाहेक अन्य दलसँग गठबन्धन गर्न नपाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै दलले आफ्नो तल्लो कमिटीहरुलाई चुनावी गठबन्धनका लागि निर्देशन गर्ने निर्णय गरेको छ । निर्वाचनमा गठबन्धनको उम्मेद्वारहरुलाई विजयी गराउनका लागि गठबन्धनमा सम्बद्ध दलहरुबीच आपसमा विश्वासको वातावरण निर्माण गरी अघि बढ्ने सहमति समेत बैठकले गरेको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाको संयोजकत्वमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट जिल्ला संयोजक असिम राई, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट जिल्ला अध्यक्ष दोर्जी जाङबु लामा र जसपाको तर्फबाट जिल्ला अध्यक्ष नरेन्द्र थापा मगर सहभागी रहेका थिए । पहिलो बैठकको संयोजन नेपाली कांग्रेस, सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बुले गरेसँगै आगामी बैठकहरुको संयोजन सबै दलका जिल्ला प्रमुखहरुले आलोपालोमा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

संयूक्त प्रेस वक्तव्य

आदरणीय जनसमुदाय एवं पाँच दलीय गठबन्धनका सम्पूर्ण नेता–कार्यकर्ता साथीहरु !
विगत केही समयअघि नेपालमा सिर्जित विशेष राजनीतिक परिस्थितिमा देशको संविधान र राष्ट्रिय स्वाधीनताको रक्षार्थ निर्मित पाँच दलीय गठबन्धनले राज्यको नेतृत्व गरिरहेको छ । २०७४ मा विभिन्न चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रथम कार्यकाल सम्पन्न हुन लागेको सन्दर्भमा स्थानीय तहको दोस्रो निर्वाचन संविधानमा व्यवस्था भएबमोजिम यही मिति २०७९ साल बैशाख ३० गते सम्पन्न हुन गइरहेको छ ।
माथिका पृष्ठभूमिमा सत्तारुढ पाँच दलीय गठबन्धनका दलका केन्द्रीय समिति तथा प्रदेश समितिहरुको निर्णय र परिपत्रअनुसार यही मिति २०७८ चैत्र २५ गते सल्लेरी, सदरमुकाममा गठबन्धन सम्बद्ध राजनीतिक दलहरुको जिल्ला प्रमुखहरुको औपचारिक बैठक बसी स्थानीय तहको आगामी निर्वाचनमा सोलुखुम्बु जिल्लामा पनि चुनावी गठबन्धन गर्न जिल्ला स्तरीय संयन्त्र निर्माण गरेको जानकारी यसै संयूक्त प्रेस वक्तव्यमार्फत गराउँदछौं । देशको मूख्य प्रतिगामी तत्व नेकपा (एमाले)लाई परास्त गर्दै संविधान, राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि वर्तमान परिस्थितिमा पाँच दलीय गठबन्धन अपरिहार्य रहेको हुनाले नेकपा (एमाले)रहित स्थानीय सरकार गठनका लागि आवश्यक चुनावी गठबन्धन गर्न र पाँच दलीय गठबन्धनमा सम्बद्ध दलहरुले गठबन्धनमा सम्बद्ध दलहरुबाहेकका दलसँग गठबन्धन गर्न नपाइने निर्णय भएको समेत जानकारी गराउँदछौं ।
अन्त्यमा, स्थानीय तहको आगामी निर्वाचनमा सम्पूर्ण जनसमुदाय र सबै दलका सम्पूर्ण पार्टी कमिटीहरु, नेता–कार्यकर्ताहरुमा विगतका सबै राजनीतिक आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै देशलाई समृद्ध बनाउनका लागि आपसी विश्वासको वातावरण निर्माण गरि पाँच दलीय गठबन्धनका उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन उत्साहपूर्वक चुनावी अभियानमा सक्रिय हुन हार्दिक अपील गर्दछौं ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *